काठमाडौं । एटीएम प्रणाली ह्याक सम्बन्धमा सुरक्षा व्यवस्था कमजोर भएको निष्कर्षसहितको प्रतिवेदन सिंगापुरको फरेन्सिक भनिने टोलीले बुझाउने तयारी गरिरहेको छ ।
उक्त टोली एटीएम ह्याक सम्बन्धमा अध्ययन गर्न गत भदौ १८ गते नेपाल आएको थियो । नेपालले एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल ल्याएको थियो । टोली गत भदौ १९ गतेदेखि अध्ययन गर्न थालेको थियो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने भन्दै टोली सिंगापुर फर्किको थियो ।
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहमा उक्त टोली नेपाल आएको थियो । ‘फरेन्सिक टोलीले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ,’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने–‘उक्त टोलीले सुरक्षा व्यवस्था कमजोर रहेको प्रतिवेदन दिन तयारी गरेको छ ।’ उक्त टोलीले ‘ल्याब टेस्ट’ लगायतको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो ।
यो टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ पत्ता लगाएको छ । त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने भएको छ ।








