नेपालमा कुनै बेला चेक क्लियरिङ (एक बैंकको चेक अर्को बैंकको खातामा जम्मा) हुन महिना दिनसम्म कुर्नुपर्ने बाध्यता थियो । चेक क्लियरिङ गर्ने काम नेपाल राष्ट्र बैंककै एउटा युनिटभित्र हुने गर्थ्यो ।
१० वर्षअघि नेपाल क्लियरिङ हाउस लिमिटेड स्थापना गरियो । यसको डिजिटल प्रणालीले चेक क्लियरिङ एकै दिनमा हुनसक्ने बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीको संयुक्त लगानीमा स्थापित यस कम्पनीमा राष्ट्र बैंकको समेत लगानी रहेको छ । चेक क्लियरिङ गर्ने मूख्य उद्देश्य लिएको यस कम्पनीले अहिले भुक्तानी सम्बन्धी अन्य कामहरु पनि सुरु गरेको छ ।
कम्पनीको नेतृत्व निलेशमानसिंह प्रधानले गरिरहेका छन् । स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा नेतृत्व गरिरहेका प्रधानको कम्पनीमा अहिले दोस्रो कार्यकाल हो । काठमाडौं विश्वविद्यालयबाट बीई र इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट एमबीए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्षभन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव छ ।
ग्राहकसँग प्रत्यक्ष रुपमा धेरै नजोडिए पनि ग्राहकको सेवामा महत्वपूर्ण भूमिका रहेको नेपाल क्लियरिङ हाउसले के गर्छ त ? प्रस्तुत छ, सीईओ प्रधानसँग अनलाइनखबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
नेपाल क्लियरिङ हाउसको पछिल्लो काम-कारबाही कसरी अघि बढिरहेको छ ?
नेपाल क्लियरिङ हाउस सुरु हुँदा चेक क्लियरिङको काम मात्र थियो । अहिले नेपालको राष्ट्रिय भुक्तानी प्रणालीहरु विस्तार गर्ने कामहरु भइरहेका छन् । केही नयाँ कामहरु शुरुआत गरिसकेका छौं भने केहि कामका लागि पूर्वाधार बनाउने काम गरिरहेका छौं ।
नेपाल राष्ट्र बैंकले विभिन्न प्रकारका भुक्तानी प्रणालीहरु अबलम्बन गरेको छ । यी प्रणाली कार्यान्वयनमा सहयोगी भूमिका निभाउँदै नेपाल क्लियरिङ हाउसले इलेक्ट्रोनिक चेक क्लियरिङ सिस्टम (एनसीएचएल इसीसी), अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली(एनसीएचएल आईपीएस), कनेक्ट आईपीएस पेमेन्ट सिस्टम सञ्चालन गरेको छ ।
एनसीएचएल आइपीएस गत तीन वर्षदेखि सञ्चालनमा छ । यसमा चेकविना नै निर्देशनका आधारमा कुनै एक बैंकको खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्ने सुविधा रहेको छ । साथै करिब एक वर्ष अघिबाट सञ्चालनमा आएको रियल टाइम पेमेन्ट गर्न सकिने सुविधा कनेक्ट आईपीएसमा रहेको छ । यसमा सोझै बैंक खाताबाट विभिन्न भुक्तानी तथा फन्ड ट्रान्सफर बैंकका ग्राहकले मोबाइल, कम्प्युटरजस्ता ग्याजेटको माध्यमबाट गर्न सकिने व्यवस्था रहेको छ ।
यस्तै अन्य प्रणालीहरुमा नेशनल पेमेन्ट इन्टर्फेस र राष्ट्र बैंकले ल्याएको आरटीजीएस (रियल टाइम ग्रोस सेटलमेन्ट) सिस्टम इन्टिग्रेसनमा भूमिका खेल्दै छौं ।
क्लियरिङ हाउसको आवश्यकता किन पर्छ ?
चेक, भुक्तानी आदेश, कार्ड लगायत विभिन्न प्रकारका वित्तीय उपकरणहरुवाट भुक्तानी, क्लियरिङ तथा राफसाफ गर्न आवश्यक भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने क्लियरिङ हाउसको काम हो ।
दक्षिण एशियाली देशहरुमध्ये नेपालमा निकै पछि २००८ मा क्लियरिङ हाउस स्थापना भयो । त्यसअघि क्लियरिङ हाउसको काम राष्ट्र बैंककै एउटा निकायले गर्ने गरेको थियो । केन्द्रीय बैंकले गर्दै आएकोे सिमित क्लियरिङको काम मात्रै नभएर अन्य भुक्तानीको कामहरु गर्नका लागि क्लियरिङ हाउसको कल्पना गरियो । त्यसपछि नेपाल राष्ट्र बैंकसमेतको लगानीमा बैंक तथा वित्तीय संस्थाहरुको सक्रियतामा नेपालमा यसको स्थापना गरिएको हो ।
नयाँ किसिमका भुक्तानी सम्बन्धी काम गर्न कत्तिको अप्ठेरो महशुस गर्नु भएको छ ?
...








