काठमाडौं । उच्च नाफा गर्ने ८ वाणिज्य बैंकले कति लाभांश दिने हुन भन्ने प्रतीक्षामा लगानीकर्ता छन् । अहिलेसम्म १९ वाणिज्य बैंकले लाभांश घोषणा गरे पनि बाँकी ८ वटाले लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा नगर्नेमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, एनसीसी बैंक र सेञ्चुरी बैंक छन् ।
कृषि विकास बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड रुपैयाँ खुुद नाफा गरेको छ । यस बैंकले उक्त नाफाबाट २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड नाफा गरेको थियो । उक्त बैंकले ३५ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । हिमालयन बैंकले पनि गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड नाफा गरेको छ । उक्त बैंकले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।
यसैगरी नेपाल बैंकले २ अर्ब ६१ करोड, एनएमबी बैंकले २ अर्ब ३१ करोड, प्राइम कमर्सियल बैंकले पौने दुई अर्ब नाफा गरेकाले १५ देखि २० प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्था छ । साथै एनसीसी र सेञ्चुरीले पनि १० प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्था छ । एनसीसीले गत वर्ष १ अर्ब ५ करोड नाफा गरेको छ ।





