विश्वविख्यात इ–कमर्स कम्पनी, अलिबाबाले १५ अर्ब डलर बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। सो शेयर हङकङको शेयर बजारमा सूचीकृत हुनेछ। कम्पनीले यही नोभेम्बरको अन्तिम साता सो शेयर सूचीकृत गर्ने तयारी गरेको हो।
यस कम्पनीको शेयर अमेरिकी शेयर बजारमा सूचीकृत छ। हङकङमा सूचीकृत गरिने शेयर सो देशको लागि बरदान साबित हुने विश्लेषकहरुको भनाई छ। हङकङमा हालै भएको सरकारविरोधी प्रदर्शनका कारण आर्थिक गतिविधि सुस्त छ।
यसले अमेरिका र चीन बीच जारी व्यापार युद्धमा सकारात्मक प्रभाव पार्ने विश्लेषण पनि गरिएको छ।
अलिबाबाको बुक बिल्डिङ्ग र सूचीकरण नोभेम्बर २५ देखि सुरु हुने स्रोतले बताएको छ। कम्पनीले हङकङ सूचीकरण समितिसँग अर्को हप्ताको बिहीबार अनुमति माग्ने अर्को एक स्रोतले बताए। अलिबाबाका प्रवक्ता भने यस विषयमा मौन छन्।
यो क्रस–बोर्डर सूचीकृत भएको सबैभन्दा ठूलो सूचीकरण हुनेछ। हालसम्म सबैभन्दा ठूलो धनराशीको आईपीओ निष्कासन गर्ने उपाधि अलिबाबाकै नाममा छ।





