काठमाडौं । धितोपत्र दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा आएको १ वर्ष पूरा भएको छ । दोस्रो बजारमा आम जनताको सहभागिता बढाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीमा हालसम्म १६ हजार २३४ लगानीकर्ता आबद्ध भएका छन् ।
नेप्सेका अनुसार १ वर्ष अवधिमा कुल कारोबार रू. १ खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजारको भएकोे छ, जसमध्ये अनलाइन मार्फत भएको कारोबार रू. १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार बराबरको छ । सो अवधिमा १५ लाख २४ हजार १४ पटक कारोबार भएकोमा अनलाइन मार्फत ३ लाख १३ हजार १९७ पटक भएको छ ।
त्यसैगरी ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता शेयर खरीदविक्री भएकोमा अनलाइन मार्फत ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता शेयर कारोबार भएको छ । १ वर्षको अवधिमा २४२ दिन शेयर कारोबार भएको छ । उक्त अवधिमा रू. १ अर्बभन्दा बढीको कारोबार १२ दिन र रू. २ अर्बभन्दा बढीको कारोबार १ दिन मात्र भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । साथै १० हजारभन्दा बढी कारोबार संख्या २३ दिन र २० हजारभन्दा बढी कारोबार संख्या १ दिन मात्र भएको देखिन्छ । १ वर्षको अवधिमा सबैभन्दा बढी कारोबार संख्या २९ हजार ४९६ रहेको छ ।
...








