काठमाडौं । शेयर लगानीकर्ताले पुँजी बजार संक्रमण अवस्थामा रहेको भन्दै सक्षम र दक्ष व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्न दबाब दिएका छन् । उनीहरुले राजनीतिक आस्थाका आधारमा बोर्डको नेतृत्व सुम्पिदा समस्या समाधान नहुने भएपछि सक्षम र दक्ष व्यक्ति नियुक्ति गर्नुपर्नेमा जोड दिएका हुन् ।
शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले धितोपत्र बोर्डको अध्यक्ष पुँजी बजारका लगानीकर्तामा चासो र सरोकार रहेको विषय बनेको भन्दै हाल संक्रमण अवस्थामा रहेको बजारलाई सही दिशा प्रदान गर्न सक्ने खालको व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्नपर्नेमा जोड दिए ।
उनले अत्यान्त नाजुक अवस्थामा पुँजी बजार पुगेको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा ढिला नगर्न पनि आग्रह गरेका छन् । लगानीकर्ताको दबाब समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा रहँदा बजारमा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न सरकारसँग आग्रह गरेको हो ।





