बैंकक (थाइल्याण्ड)-इण्डो प्यासिफिक देशमा अर्थतन्त्रको विकासका लागि डिजिटल अर्थतन्त्र, गुणस्तर पूर्वाधार र दिगो ऊर्जालाई प्रमुख आधारमा रुपमा अघि सारिएको छ ।
सोमबार भएको इण्डो प्यासिफिक विजनेश फोरम २०१९ को कार्यक्रममा एसियन देशहरुको अर्थतन्त्रको वृद्धिलाई अर्थतनन्त्रको विकासका लागि मुख्य नेतृत्वदायी मुद्दाको रुपमा अघि सारिएको हो । एक हजारभन्दा बढी सरकारका प्रतिनिधि र व्यापारीहरु सहभागी रहेको सो सम्मेलनमा बोल्दै अमेरिकाको डिपार्टमेण्ट अफ् कमर्सका सचिव विल्वुर रोसले डिजिटल अर्थतन्त्र, गुणस्तरयुक्त पूर्वाधार र दिगो ऊर्जा विकासका लागि अमेरिकी सरकारले इण्डो प्यासिफिक क्षेत्रमा ठूलो योगदान गरिरहेको बताए ।
युएस चेम्बर अफ कमर्श र थाई चेम्बर अफ कमर्श लगायतको सहभागितामा आयोजना गरेको विजनेश फोरममा सचिव रोसले अमेरिका जहिले पनि स्वतन्त्र र खुल्ला लगानी र व्यापारको पक्षमा रहेको बताउँदै अमेरिकाले सधै पारदर्शितामा जोड दिने बताए । उनका अनुसार, इण्डो प्यासिफिक क्षेत्रका लागि अमेरिका सबैभन्दा बढी वैदेशिक लगानी मुलुक हो भने यस क्षेत्र र अमेरिकाबीच १.९ ट्रिलियन डलरको व्यापार र लगानी रहेको छ, यसबाट ५५ लाखले रोजगारी पाएका छन् । सन् २०१८ र २०१९ मा ४३९ परियोजनमा लगानी गरेको अमेरिकाले यस क्षेत्रमा ग्रिन फिल्ड लगानी अन्र्तगत १०२२ परियोजनामा लगानी गर्न लागेको पनि उनले जानकारी दिए ।
फोरममा दिएको जानकारी अनुसार, इण्डो प्यासिफिक क्षेत्रमा अमेरिकामा ९ हजार कम्पनी कार्यरत छन् उनीहरुमार्फत ७.७५ विलियन डलर बराबर निर्यातका लागि सहयोग भएको छ भने २५ सय यस क्षेत्रका कम्पनीहरुले अमेरिकामा लगानी गर्न लागेका छन् ।








