काठमाडौं : ग्लोबल आइएमई लघुवित्तको लिलामी सेयरमा ६४१ रुपैयाँ कट अफ प्राइस कायम भएको छ । अर्थात् यसमा प्रतिकित्ता न्यूनतम ६४१ रुपैयाँसम्म भाउ तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार लगानीकर्ताले न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ६८५ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेस गरेका छन् । यसमा २१४ जनाले आवेदन दिएका हुन् ।
यो लिलामी सेयरमा मञ्जुश्री फाइनान्सले २५ हजार कित्ता सेयर हात पारेको छ । बिक्री प्रबन्धकका अनुसार मञ्जुश्रीले प्रतिकित्ता ६८५ रुपैयाँका दरले २५ हजार कित्तकाका लागि आवेदन दिएको थियो । सोही अनुरुप मञ्जुश्रीको नाममा २५ हजार कित्ता गएको हो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले असोज २८ गतेबाट कात्तिक ५ गतेसम्म सर्वसाधरण समूहको ५६ हजार ५६१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।





