काठमाडौं – फितलो व्यवस्थापनका कारण ग्राहकबाट चालोचना खेप्दै आएको राष्ट्रिय वाणिज्य बैंकमा सुधार आएपछि यसले ६० करोड रुपैयाँ सहुलियत कर्जा वितरण गरेको छ।
व्यावसायिक कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडितका लागि निजी आवास निर्माण, महिला उद्यमशीलता लगायत शीर्षकमा नौ सय ८७ जनालाई उक्त कर्जा वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले बताए।
विभिन्न कारणले केही समयअघि आलोचना खेप्दै आएको बैंकले हाल बचत, नाफामा मात्र नभई कर्जा लगानीमा पनि फड्को मारेको बताउँदै श्रेष्ठले थपे, ‘बैंकले हालसम्म एक खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ, जसमध्ये ६० करोड रुपैयाँ सहुलियत कर्जा हो।’ बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा वितरण गर्दा सम्बन्धित संस्थाको आधार दरमा दुई प्रतिशत माथिसम्म ब्याजदर तोक्न पाउने व्यवस्था छ।
हाल बैंककोे आधार दर ५.६० प्रतिशत छ। यसमा दुई प्रतिशत बिन्दु जोड्दा ब्याज ७.६० प्रतिशत हुन आउँछ। उनले भने, ‘महिला उद्यमशील कर्जामा ६ प्रतिशत र अन्य सहुलियत कर्जामा पाँच प्रतिशत अनुदान पाउने भएकाले यी शीर्षकमा बढी कर्जा प्रवाह गर्दा सीप भएका तर लगानीको अभावमा त्यत्तिकै बसेकाले व्यवसाय सञ्चालन गर्ने भएकाले सबैलाई फाइदा हुन्छ।’
हाल बैंकले सहुलियत कर्जामा ७.६० प्रतिशत ब्याज लिने गरेकामा महिला उद्यमशील शीर्षकमा ६ प्रतिशत अनुदान पाउने व्यवस्था रहेकाले कर्जा लिने व्यक्तिले बंैकलाई १.६० प्रतिशत मात्र ब्याज तिरे पुग्छ।






