एकाघर परिवारको नाममा रहेको शेयर अर्को सदस्यको नाममा कसरी नामसारी गर्ने भन्ने सम्बन्धमा धेरै लगानीकर्ताहरु अन्योलमा परेका हुन सक्छन् । यसैलाई मध्यनजर गर्दै यहाँ यस बिषयमा जानकारी प्रस्तुत गरिएको छ ।
एकाघर परिवार भन्नाले तीन पुस्ता भित्रको परिवारलाई बुझिन्छ ।
शेयर लगानीकर्ताले घरयासी र मृत्यु नामसारीका लागि आफूले डिम्याट खाता खोलेको लाइसेन्स प्राप्त निक्षेप सदस्यबाट नै आवश्यक प्रक्रिया पूरा गरेर नामसारी सेवा लिनसक्ने छन् ।
घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा शेयरधनीको मृत्युपछि एकाघरको परिवारमा शेयर नामसारी गर्नका लागि हकवालाले आवश्यक विवरण सहित आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यको कार्यालयमा गएर आवश्यक शुल्क सहित निवेदन दिनुपर्ने हुन्छ ।
जसमा शेयर नामसारी गर्नका लागि नामसारी लिने र दिने दुवै नागरिकताको प्रतिलिपि, नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि र मञ्जुरीनामा सहित डिम्याट खाता खोलेको कार्यालयमा उपस्थित हुनुपर्ने हुन्छ ।
मृत्यु पश्चात् हुने शेयर नामसारीका लागि भने मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि र हकवालाको नागरिकताको प्रमाणित प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र तथा उल्लेखित सम्पूर्ण हकवालाको नागरिकताको दुई÷दुई प्रति प्रतिलिपि आवश्यक पर्नेछ ।
मृत्यु पश्चात हुने नामसारीका लागि भने अन्य कसैको हकदाबी हुन सक्ने भन्दै सिडिएससीको वेभसाइटमा ३५ दिने सूचना प्रकाशित गरेर समय प्रदान गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र हक हस्तारण हुनेछ ।
उदारणका लागि कुनै शेयरधनीको मृत्यु भएमा सर्वप्रथम मृतकको श्रीमान वा श्रीमतीको नाममा स्वतः हक हस्तान्तरण हुनेछ । उनीहरु नै उक्त शेयरको पहिलो हकवाला हुनेछन् । तर यदि पहिलो हकवाला नभएको खण्डमा दोस्रो हकवाला रुपमा उसका छोरा छोरी हुने छन् । तेस्रो हकवालाको रुपमा छोराका सन्तान रहनेछन् ।
यसरी आवश्यक पर्ने कागजात सहित निवेदकले दिएको निवेदन तथा संलग्न कागजात रुजु गरि डिम्याट खाता खोलेको कार्यालयले सिडिएससीको प्रणालीमा दर्ता गराउँछ । यसरी प्रणालीबाट उपलब्ध हुने विवरण सहित डिम्याट खाता खोलेको कार्यालयलले निवेदन तथा आवश्यक सम्पूर्ण कागजात सहित सिडिएससीमा पेश गर्नेछ ।
यसैगरी अभौतिक शेयरको हस्तान्तरणको लागि शेयर नामसारी गरिदिन चाहेको व्यक्तिको शेयर रहेको खाताको विवरण सहित र भौतिक रुपमा रहेको शेयर हस्तान्तरणका लागि शेयरको प्रमाणपत्र सहित आफ्नो डिम्याट खाता कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ ।
यसरी डिम्याट खाता कार्यालयबाट प्राप्त हुने निवेदन र कागजातको आवश्यक जाँचबुझ गरि उपयुक्त देखिएमा सिडिएससीले हक हस्तान्तरण गर्दछ ।
यसरी हक हस्तान्तरण गर्दा भौतिक रुपमा शेयर रहेको भए हस्तान्तरण हुने शेयर अभौतिक रुपमा निवेदकको खातामा जम्मा गरिदिन सूचीकृत संस्था र सो संस्थाको शेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।
यसरी शेयर नामसारी गर्दा लाग्ने शुल्क
घरयासी वा अंशबण्डाबाट गरिने हक हस्तान्तरणको लागि शेयरको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।
...





