काठमाण्डौ । सेयरबजारलाई धनाढ्यहरुको क्रीडास्थल मानिन्छ । यही धनाढ्य बन्ने सपना बोकेर विभिन्न प्रोफेसनका व्यक्तिहरुको जमातको पनि लगानी सेयरबजारमा हुँदै आएको सर्वविदितै छ ।
राष्ट्रकै उच्च गरिमा बोकेको निजामती सेवामा कार्यरत कर्मचारीको पनि आकर्षण सेयर बजारमा बिछट्टै छ । ४१ वर्षको सरकारी सेवामा बिताएका पूर्वशाखा अधिकृत कुलचन्द्र भट्टराईको ३३ वर्षे सेयरबजारको यात्राबारे यस साता प्रस्तुत गर्दौछौँ ।
पुख्र्यौली घर ताप्लेजुङ भएका ६५ वर्षीय भट्टराई धरानको बरगाछीमा बसोबास गर्छन् । सेवानिवृत्त भएको ६ वर्ष भयो । २०३४ सालमा मुखिया पदबाट सरकारी सेवामा कदम राखेका भट्टराई शाखाअधिकृत पदबाट निवृत्त भएका हुन् ।
कुरा २०४२ सालतिरको हो । भट्टराई धरान छाताचोकमा रहेको धरान अस्पतालमा सरुवा भई आएका थिए । अस्पतालको प्रशासनमा खरिदार पदमा कार्यरत रहँदा सोही अस्पतालअगाडि नेपाल बैंक लिमिटेड धरान शाखामा भीड लागेको उनले देखे । उनका एकजना साथीले भट्टराईलाई बोलाए अनि उनी त्यहाँ पुगे । त्यो भीड ग्रिनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) को आईपीओ भर्नेको थियो ।
मासिक तलब भट्टराईले करिब ७ सय बुझ्दथे । भर्खरै महिनावरी तलब बुझेका उनले ६ सय रुपैयाँमा १० कित्ता आईपीओ भरे । पछि उनले १० कित्तै हातापनी पारे । ‘त्यतिबेला ६ सय रुपैयाँ दिएर न्यूनतम १० कित्ता आवेदन दिन पाइन्थ्यो’, भट्टराई भन्छन् । त्यसपछि भट्टराईलाई सेयरमा उत्सुकता बढ्दै गयो । सो बैंकबाट लाभांश सुरुमा ३५ रुपैयाँ, दोस्रोपल्ट ६० रुपैयाँ र तेस्रोपटक ८४ रुपैयाँ थापेको उनले सम्झे ।
मनकामना विकास बैंकको आईपीओ भरेयता भट्टराईले आईपीओमा भने लगानी नगरेको बताए । ‘आईपीओ भर्न लाइन बस्न झ्याउ र नपर्ने भएकोले पनि भर्न रुचि जागेन’, भट्टराई भन्छन् ।





