सिन्धुपाल्चोक-शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधिन २२ मेगावाटको चाकु ए जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरेर ६ महिनाभित्रै शेयर लगानीकर्तालाई लाभांश बाँड्ने कार्ययोजना अघि सारेको छ । आयोजनाको ट्रान्स्मिशन लाइन बनिसकेकाले विद्युत् उत्पादन गरेर छोटो समयमै लगानीकर्तालाई फाइदा दिने योजना बनाएको हो ।
विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद सम्झौता अनुसार उत्पादन सुरु गरेपछि त्यसको बिक्रीबाट हुने आम्दानीबाट छिट्टै लाभ दिन सकिने आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी अध्यक्ष बच्चु पौडेलका अनुुुसार ढिलोमा ६ महिनामा विद्युत् उत्पादन गरेर शेयर लगानीकर्तालाई छिटो भन्दा छिटो लाभांश दिने तयारी गरिएको हो ।
ट्रान्समिसन लाईनबाटसमेत थप आम्दानी हुने भएकाले उत्पादन गरेलगत्तै लगानीकर्तालाई लाभ दिन सकिने आयोजनाको दावी छ । ८० मेगावाट क्षमताको ट्रान्समिसन लाइन आसपासका अन्य आयोजनाले पनि प्रयोग गर्ने भएकाले भाडावापत बर्सेनी त्यसबाट हुने करोडौं आम्दानी पनि शेयरधनीले पाउनेछन् । आयोजनाबाट उत्पादित २२ बाहेक करिव ६० मेगावाट विद्युत् सोही ट्रान्समिसन लाइनबाट सप्लाइ गर्न सकिने पौडेलले जानकारी दिए ।





