काठमाडौं । यस वर्षदेखि वाणिज्य बैंकहरूले चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने व्यवस्थाले प्राथमिक बजारमा ऋणपत्र निष्कासनले निरन्तरता पाएको छ । हाल लक्ष्मी बैंकको रू. २ अर्ब बराबरको ऋणपत्र विक्रीमा छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा दशवर्षे अवधिको २० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । असोज २३ गतेदेखि विक्री खुला भएको यो ऋणपत्र कात्तिक २२ गतेसम्म विक्रीमा रहनेछ ।
यससँगै आईसीएफसी फाइनान्स र पाँच वाणिज्य बैंकहरूले रू. ११ अर्ब ७० करोड बराबरको ऋणपत्र निष्कासन गर्न लागेका छन् । यी बैंकहरूमा प्रभु बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक र सन्राइज बैंक छन् । प्रभु बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा दशवर्ष अवधिको रू. १ अर्ब बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट असोज ७ गते अनुमति पाइसकेको छ । अन्य पाँच कम्पनीले भने सेबोनमा निवेदन दिएका छन् ।
कुमारी बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा दशवर्षे अवधिको, नेपाल एसबीआई बैंकले १० प्रतिशत ब्याजदरमा दशवर्षे अवधिको नबिल बैंकले १० प्रतिशत ब्याजदरमा ६ वर्षे अवधिको, सन्राइज बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा सातवर्षे अवधिको र आईसिएफसी फाइनान्सले वार्षिक १२ प्रतिशत ब्याजदरमा सातवर्षे अवधिको ऋणपत्र जारी गर्न लागेका हुन् । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १००० छ ।





