फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी बनेको छ। कम्पनीले आफ्नो व्यवसाय विस्तारलाई बढाउँदै क्रमबद्ध प्रगति गर्दै आएको छ ।
माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। जबकी गत बर्षको यसै अवधिमा माइक्रोफाइनान्सले २ करोड ३० लाख खुद नाफा कमाएको थियो।
थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ४० करोड ४९ लाख सापटी लिएर यसअवधिमा ५ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट कम्पनीले ४ करोड २४ लाख ८० हजार खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीले बैंकहरुबाट सापटी र कर्जा लगानी करिब ३० प्रतिशतले वृद्धि गरेको छ।
कर्मचारी खर्चमा २० प्रतिशत वृद्धि भएपनि कम्पनीको ब्याज आम्दानीमा देखिएको सुधारले आम्दानीमा सुधार भएको हो। निष्कृय कर्जा अनुपात शून्य प्रतिशतमा राख्न सफल यस लघुवित्तले ११ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ।






