काठमाडौं : शिव श्री हाइड्रोपावको आइपीओमा बिहीबार (असोज ३० गते) साँझसम्ममा ६ करोड ११ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ११ हजार आवेदकबाट ६ लाख ११ हजार कित्ताका लागि आवेदन परेको छ । यसआधारमा अझै २७ लाख ४० हजार १४० कित्तामा आवेदन पर्न बाँकी रहेको देखिन्छ । यो आइपीओमा न्यून आवेदन परेपछि कम्पनीले असोज २५ गतेबाट संस्थाहरुले पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
यद्दपि, संस्थाहरुले अहिलेसम्म खासै आवेदन दिएको देखिंदैन । शिव श्री हाइड्रोपावरले असोज १६ गतेबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्तासमेत गरी ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।





