बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय निकै सुधार भएको छ । वित्तीय पहुँच बडेर ६०.९ प्रतिशत पुगेको छ । अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकमा शाखा खोल्ने र बैंकबाट कारोबार गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । साथमा बैंकिङ प्रविधिका प्रयोगकर्ता पनि बढ्न थालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
गत असार मसान्तसम्मको तथ्यांकअनुसार, नेपालमा एटीएमको संख्या ३३१६ पुगेको छ । जबकी एक वर्षअघि यस्तो संख्या २७९१ थियो । एटीएम मेसिनको संख्या मात्रै बढेका छैनन्, बैंकको कार्ड प्रयोग गर्नेको संख्याले पनि तीव्रता पाइरहेको छ । डेबिट कार्डका प्रयोगकर्ता ६७ लाख आठ हजार पाँच सय २१ पुगेको छन् भने क्रेडिट कार्डका प्रयोगकर्ता एक लाख २३ हजार एक सय ४६ पुगेको छ । एक करोड ८० लाखको बैंक् खाता भएको अवस्थामा यो संख्या कम देखिए तापनि विगतको अवस्था हेर्दा यसलाई राम्रै प्रगति मान्नुपर्छ ।








