काठमाडौँ । आर्थिक वर्ष ०७५/७६ मा बैंक तथा वित्तीय संस्थामा ७ अर्ब १२ करोड रुपैयाँ सेयर प्रिमियमका रूपमा रहेको छ । मर्जरमा गाभिने बैंकको खुद सम्पत्तिभन्दा सेयर मूल्यांकनका कारण गाभ्ने कम्पनीले कम मूल्य तिर्नुपरेको अवस्थामा बाँकी रहेको लाभ रकम सेयर प्रिमियममा जान्छ । त्यसैगरी सेयर लिलामीबाट बेच्दा बढी मूल्यमा बिक्री भएमा यसरी प्राप्त हुने रकम सेयर प्रिमियमका रूपमा राख्नुपर्छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष ०७५/७६ को तथ्यांकअनुसार ३७ बैंक तथा वित्तीय संस्थामा सेयर प्रिमियमका रूपमा जम्मा भएको रकम ७ अर्ब १२ करोड रहेको छ । यो रकम सोही कम्पनीहरूको कुल चुक्ता पुँजी १ खर्ब २३ अर्बका आधारमा ५ दशमलव ७८ प्रतिशत हो । प्रिमियमका रूपमा जम्मा हुने रकम बोनसका रूपमा नै वितरण गर्नुपर्ने कम्पनी ऐनको प्रावधान छ ।
‘गाभिँदा कुनै बैंकको सेयरको मूल्यांकन १ सय रुपैयाँभन्दा कम गरियो भने मूल्यांकनबराबर रकम चुक्ता पुँजीमा जोडिन्छ,’ सेयर विश्लेषक प्रकाश तिवारीले भने, ‘तर, बाँकी रकम भने सेयर प्रिमियमका रूपमा रहन्छ ।’ यसरी उब्रिएको रकम सोझै चुक्ता पुँजीमा थप्न पाइँदैन । त्यही रकम बोनस सेयरका रूपमा लगानीकर्तालाई दिएपछि मात्रै चुक्ता पुँजीमा जोडिन्छ ।
...





