काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार पछिल्ला दुई दिनदेखि उकालो लाग्न थालेको छ । नेप्से परिसूचक दुई दिनमा २०.१३ अंकले वृद्धि भएको छ । दशैंको पूर्वसन्ध्यामा शेयर बजार उकालो लाग्नुलाई लगानीकर्ताले शुभ संकेतको रुपमा लिएका छन् । दशैं खर्चका लागि बिक्री गर्नेले यसअघि नै बिक्री गरिसकेकाले पनि शेयर बजार उकालो लाग्न पुगेको कतिपय लगानीकर्ताको भनाइ छ । दशैंपछि धेरैजसो कम्पनले साधारणसभा गर्दै छन् । ती कम्पनीको लाभांश बुक गर्नका लागि लगानीकर्ताले शेयर खरिद गर्न थालेकाले पनि बजार बढ्न पुगेको बिज्ञहरुको भनाइ छ ।
जेहोस, शेयर बजारमा सुधारको संकेत देखिएको छ । शेयर बजार निरन्तर ओरालो लाग्दा निराश बनेका लगानीकर्तामा बजार उकालो लाग्ने संकेत देखिएसँगै खुशी छाएको छ । लगानीकर्ताको मुहार पनि फेरिएको छ । हिजो एक ब्रोकरको कार्यालयमा पुग्दा हसिलो अनुहारमा लगानीकर्ता देखिएका थिए । बजार उकालो लाग्दै गएपछि लगानीकर्ताको चहल पहल बढने र ओरालो लाग्दा ब्रोकरका कार्यालय पनि सुनसान हुने गर्दछन् ।
सोमबार बजार बढ्न पुगेका कारण ब्रोकरको कार्यालयमा मंगलबार लगानीकर्ताको भिडभाड देखिन्थ्यो । लगानीकर्ताले दशैंको शुभकामना साटासाट गर्दै समृद्धिको कामना गरेका थिए । एक अर्काबीच मजाक गर्दै दशैंमा बुढापाकाले दिने आर्शीवाद समेत दिँदै थिए । दशैअघिको शेयर बजारमा आएको सुधारले खुशीयाली छाएको छ । तर, यो खुशीयाली कति दिनसम्म टिक्ने हो त्यो भने भनिहाल्न सक्ने अवस्था छैन ।
दशैंको मुखमा शेयर बिक्री गरेर खर्चको जोहो गर्न थालेपछि नेप्से ओरालो लाग्न पुगेको थियो । त्यसको प्रभाव सकिएसँगै शेयर बजार उकालो लाग्ने संकेत देखिएको छ ।





