नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गणना गरिरहेको सेन्सेटिभ इन्डेक्सको विषयमा एउटा अनलाइन पत्रिकाले प्रश्न उठाएपछि नेप्से र उक्त पत्रिकाबीच जुहारी चल्यो । पत्रिकाले सम्पादकीय समेत लेख्यो । तर, नेप्सेका जिम्मेवार तहमा रहेका अधिकारीले यसको जिम्मेवारी लिएको देखिएन । समाचार आएलगत्तै नेप्सेले विज्ञप्ति निकालेर स्पष्टीकरण दिन खोजे पनि त्यो पर्याप्त देखिएन । नाम र पद नलेखी हस्ताक्षर मात्र गरिएको विज्ञप्तिले तथ्य लुकाएको देखियो । सेन्सेटिभ इन्डेक्स गणनाको विषयमा विज्ञप्ति निकाले पनि त्यसमा परेका कम्पनी आम सर्वसाधारणले देख्ने गरी नेप्सेको वेबसाइटमा नराखी विषय उठान गर्ने पत्रिकालाई मात्र दिइयो । पत्रिकालाई दिन हुने कम्पनीको सूची नेप्सेको वेबसाइटमा नअटाउनु आश्चर्यलाग्दो छ ।
केही कुरा इन्डेक्सको
सेन्सेटिभ इन्डेक्सको नालीबेली लगाउनुभन्दा अघि इन्डेक्स बुझ्नु जरुरी छ । इन्डेक्स शेयर कारोबार मापन गर्ने विधि हो । शेयर कारोबार मापन गर्दा आधार बजार पूँजीकरण र तत्कालीन बजार पूँजीकरण गरी दुईओटा तथ्यांक लिइन्छ । आधार बजार पूँजीकरण कुनै एक दिनलाई आधार मानेर लिइन्छ । त्यसपछि हरेक पटक नयाँ कम्पनी सूचीकरण र हकप्रद शेयर थपिँदै जाँदा आधार बजार पूँजीकरण परिवर्तन हुँदै जान्छ । शुरूमा आआफ्नै ढङ्गले हुँदै आएको शेयर कारोबार मापनपछि एक्सचेन्ज आफैले मापन गरेर हरेक दिन सार्वजनिक गर्न थालेको हो । अहिले पनि आफूखुशी मापन गर्न सकिन्छ । सीधा अर्थमा इन्डेक्स भनेको पहिलो दिनको तुलनामा पछिल्लो दिन कारोबार कति बढ्यो भनेर हेर्ने सामान्य सूचना मात्र हो । इन्डेक्स प्रत्यक्ष रूपमा कम्पनीको नाफा र लाभांश वितरण गर्ने क्षमता होइन । एक्सचेन्जमा सूचीकरण हुन सिद्धान्ततः एक्सचेन्जले तोकेको न्यूनतम चुक्ता पूँजीयुक्त कम्पनी हुनुपर्छ । इन्डेक्स गणनामा अधिक पूँजी भएका कम्पनीको स्वाभाविक रूपमा बढी र न्यून पूँजीयुक्त कम्पनीको खास योगदान हुँदैन । संसारका ठूला भनिएका एक्सचेन्जको इन्डेक्सलाई हल्लाउने कम्पनीको संख्या सीमित हुन्छ । नेपालमा अहिले पनि नेपाल टेलिकम इन्डेक्सलाई एक्लै हल्लाउन सक्षम छ । १५ करोड कित्ता शेयर सूचीकरण भएको टेलिकमको अहिले घट्दो बजारमा पनि ९३ अर्ब ७५ करोड रुपैयाँ (बजार मूल्य ६ सय २५ रुपैयाँ) बजार पूँजीकरण छ । कुल बजार पूँजीकरण १४ खर्ब ४७ अर्ब करोड २८ लाख रुपैयाँको आधारमा ६ दशमलव ५ प्रतिशत योगदान हुन आउँछ । (२०७६ असोज ५ गतेको कारोबारमा आधारित) नेपालमा जस्तै बंगलादेशको ढाका स्टक एक्सचेन्जमा सूचीकृत ग्रामीण फोन दूरसञ्चार कम्पनीले त्यहाँको बजारलाई हल्लाउन सामथ्र्य राख्छ ।
नेपालका इन्डेक्सहरू
नेप्सेले समग्र बजार सूचक जनाउने ‘नेप्से’, ‘नेप्से प्mलोट’, ‘सेन्सेटिभ’, ‘सेन्सेटिभ फ्लोट’ र ‘समूहगत १२ ओटा’ इन्डेक्ससहित कुल १६ ओटा इन्डेक्समार्फत शेयर कारोबार मापन गरिरहेको छ । यी १६ ओटा समूहगत इन्डेक्स एकैपटक गणना शुरू गरिएका होइनन् । आवश्यकता अनुसार यी इन्डेक्स जतिबेला आवश्यक देखियो त्यति बेलादेखि शुरू गरिएका हुन् । पछिल्लोपटक म्युचुअल फन्डको मात्र इन्डेक्स गणना शुरू गरी इन्डेक्सको संख्या १६ ओटा पुगेको हो । कुनै बेला जीवन र निर्जीवन बीमा कम्पनीका इन्डेक्स संयुक्तरूपमा गणना गरिन्थ्यो र अहिले अलगअलग बनाइएको छ । त्यस्तै, विकास बैंक समूहमा राखेर गणना गरिएको लघुवित्त समूह अहिले अलग भइसकेको छ । चर्चामा रहेको ‘सेन्सेटिभ इन्डेक्स’ को गणना २०६३ पुस १७ गतेबाट शुरू गरिएको थियो । त्यसको २ वर्षपछि २०६५ भदौ ३० गतेबाट ‘सेन्सेटिभ फ्लोट इन्डेक्स’ गणना शुरू गरियो । समग्र ‘नेप्से इन्डेक्स’ मा सूचीकृत सबै (संस्थापक र साधारण) शेयरको कारोबार भएको दिनको अन्तिम मूल्यले गुणन गरी बजार पूँजीकरण निकाली इन्डेक्स गणना गरिन्छ भने ‘नेप्से फ्लोट इन्डेक्स’मा फ्लोटेड अर्थात् कारोबारयोग्य शेयरको मात्र पूँजीकरण गणना गरी इन्डेक्स गणना गरिन्छ । फ्लोटेड शेयरलाई सामान्य अर्थमा संस्थापक बाहेकको सर्वसाधारण समूहमा रहेको शेयर भन्ने बुझिन्छ । यसमा संस्थापकले धारण गरेको सर्वसाधारण समूहमा परिवर्तित शेयर समेत पर्छ ।
पहिलेको ‘क’ र अहिलेको ‘ए’
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम ६ ले कम्पनीलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा विभाजन गर्नुपर्ने व्यवस्था गरेपछि साविकमा नेप्सेले विभाजन गर्दै आइरहेको ‘क’ र अन्य वर्ग स्वतः विस्थापनमा प¥यो । त्यतिबेला यिनै ‘क’ वर्गमा पर्ने कम्पनीको मात्र छुट्टै इन्डेक्स गणना गरियो र यसलाई ‘सेन्सेटिभ इन्डेक्स’ नामकरण गरियो । ‘सेन्सेटिभ इन्डेक्स’ मा नेप्से इन्डेक्समा झैं सूचीकृत ‘क’ वर्गमा पर्ने सबै शेयरको समग्र पूँजीकरण लिइन्थ्यो भने ‘सेन्सेटिभ फ्लोट’मा नेप्से फ्लोट इन्डेक्सझैं कारोबारयोग्य शेयरको मात्र पूँजीकरण लिइन्थ्यो । तत्कालीन अवस्थामा उचित देखिएको ‘सेन्सेटिभ इन्डेक्स’ र ‘सेन्सेटिभ फ्लोट’ गणना वर्तमानमा आइपुग्दा औचित्यहीन हुनपुग्यो । नियमावली लागू भएलगत्तै नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ पनि लागू गरी नयाँ व्यवस्थाअनुरूप कम्पनीको वर्गीकरण सार्वजनिक गर्यो । अहिले पनि सोही विनियम अनुसार कम्पनीको वर्गीकरण हुँदै आएको छ । तोकिएका सूचकहरूको आधारमा गरिएको वर्तमान वर्गीकरण प्रणालीले लगानीकर्ताको लागि लगानी छनोट गर्न सहयोग पुर्याउने हुन्छ । वर्गीकरणको ‘ए’ वर्गमा पर्ने कम्पनीलाई अब्बल मान्न सकिन्छ । त्यस्तै ‘बी’ वर्गमा पर्नेलाई सामान्य मध्यमस्तरमा परेको मान्न सकिन्छ । ‘जी’ वर्गमा परेका कम्पनी नवसूचीकृत हुन् । यस्ता कम्पनीले ‘ए’ र ‘बी’ को शर्त पूरा गरे पनि २ वर्ष यही समूहमा बस्नुपर्छ । २ वर्षपछि यी कम्पनी ‘ए’, ‘बी’ वा ‘जेड’ वर्गमा जानुपर्ने हुन्छ । ‘जेड’ वर्गमा वर्गीकृत हुनु भनेको सामान्य अर्थमा ‘रद्दी वा जिरो’ भन्ने अर्थ लाग्छ । बंगलादेशमा यस्ता कम्पनीको राफसाफ १० दिनमा गरिन्छ ।
अर्थहीन सेन्सेटिभ इन्डेक्स
पहिले पनि खासै अर्थ नराखेको सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोटको अहिले त झन् कुनै अर्थ नै छैन । यसले लगानीकर्तालाई नै झुक्याएको छ । सामान्यतया ‘क’ र ‘ए’ को एकै अर्थ लाग्छ । तर, त्यतिबेलाको ‘क’ वर्गमा वर्गीकृत हुने आधार र अहिलेको ‘ए’ वर्गमा वर्गीकृत हुने आधार नै आकाश र जमीनको अन्तर छ । वर्गीकरणको आधार नै फरक परेको बेला नेप्सेको ‘क’ वर्गमा परेको कम्पनी भन्नु हास्यास्पद हुनजान्छ । यसलाई बम्बे स्टक एक्सचेन्जको सेन्सेक्ससँग कतिपयले तुलना गरेको पनि देखिन्छ । बम्बे स्टकको ‘सेन्सेक्स’ अर्थात् ‘सेन्सेटिभ इन्डेक्स’ त्यहाँको आधारभूत इन्डेक्स हो भने नेपालको सेन्सेटिभ इन्डेक्सले बम्बे स्टकको सेन्सेटिभ इन्डेक्स मापनको कुनै आधार र शर्त पूरा गरेको छैन । त्यहाँको सेन्सेक्स गणनाका लागि तय गरिएका आधार हाम्रोभन्दा फरक छ ।
कस्तो इन्डेक्स
नेपालमा पनि बम्बे स्टकको जस्तै इन्डेक्स (सेन्सेक्स) बनाउने हो भने हाम्रो इन्डेक्स गणना विधिमा सामेल कम्पनी पुनर्विचार गर्ने समय आइसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भनेझैं हाम्रो इन्डेक्स अहिलेको सन्दर्भमा बढी देखिएको सत्य हो । यसलाई पुनर्विचार गर्ने हो भने वर्तमान इन्डेक्सको अंक आधा देखिन सक्छ । अहिले गणना गरिएको नेप्से इन्डेक्स गणनामा कहीँ न कहीँ त्रुटि छ । त्रुटि सच्याएर भरपर्दो र यथार्थवादी इन्डेक्स बनाउने बेला आइसकेको छ । इन्डेक्स थोरै वा धेरै अंकभन्दा पनि सत्यतथ्य र यथार्थवादी हुनुपर्छ । यसको लागि यथाशीघ्र नेप्से इन्डेक्स गणनाका लागि सीमित कम्पनी सामेल गर्नु जरुरी भएको छ । बम्बे स्टकमा ६ हजारभन्दा बढी कम्पनी सूचीकरण भए पनि सेनसेक्समा ३० ओटा कम्पनी मात्र रहेको हुँदा यहाँ पनि नेप्से – २० अर्थात् २० ओटा कम्पनी राखेर इन्डेक्स गणना गर्न उपयुक्त हुन्छ ।
लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।








