प्रश्न : डे १, डे २ र डे ३ फारम भनेको के हो ? यो कस्ता कस्ता व्यवसायीले भर्नु पर्ने हुन्छ । यस्ता फारम भर्न लेखा परीक्षण पनि गराउनु आश्यक छ ?
डे १, डे २ र डे ३ फारम आय विवरण सम्बन्धित फारमहरु हुन् । पूर्वानुमानित कर तिर्ने प्राकृतिक व्यक्तिले डे १ विवरण भर्नु पर्दछ, कारोबारको आधारमा कर दाखिला गर्नु पर्ने व्यक्तिले डे २ विवरण भर्नु पर्दछ भने व्यवसाय, रोजगारी तथा लगानीबाट आय हुने व्यक्तिले डे ३ विवरण भर्नु पर्दछ ।
डे १ विवरण : यो पूर्वानुमानित कर तिर्ने प्राकृतिक व्यक्तिले भर्ने विवरण हो । व्यवसायबाट प्राप्त आय २ लाख रुपैयाँ र व्यवसायको कारोबार २० लाख रुपैयाँभन्दा बढी नभएका व्यक्तिले पूर्वानुमानित कर छनौट गर्न सक्छन । पूर्वानुमानित कर तिर्ने व्यक्तिले औषधि उपचार खर्च मिलान र अग्रिम कर कट्टी दावी गर्न पाँउदैनन् । यस्ता व्यक्तिहरुले डे १ विवरण बुझाउनु पर्दछ । उनीहरुले विवरणका साथ कुनै थप विवरण वा कागजात पेश गर्नु पर्दैन । तर, आफूले पेश गरेको आय विवरणमा उल्लेखित कारोबार र खर्चलाई पुष्टि गर्ने प्रमाण तथा कागजात आफूसँग भने सुरक्षित राख्नु राम्रो हुन्छ ।
डे २ विवरण : कारोबारमा आधारित कर तिर्ने प्राकृतिक व्यक्तिले यस्ता विवरण भर्नुपर्ने हुन्छ । व्यवसायको कारोबार वार्षिक बिस लाख रुपैयाँभन्दा बढी र पचास लाख रुपैयाँभन्दा घटी भएको, मूल्य अभिवृद्धि करमा दर्ता नभएको र चिकित्सक, इञ्जिनियर, लेखा परीक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्श दातालगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको खण्डमा डे २ विवरण भर्नु पर्छ ।
डे ३ विवरण : व्यवसाय, रोजगारी तथा लगानीबाट आय हुने व्यक्तिले डे ३ विवरण भर्नु पर्दछ ।
(सृजना अधिकारी, अधिवक्ता अधिकारी एस एण्ड एस जुरिष्ट्समा मेनेजिङ पार्टनर छिन् )








