महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका थुनुवामध्ये ६ जना चिनियाँ विशेष छन् । तीन साताअघि काठमाडौंका बैंकहरूमाथि साइबर हमला गरी एटीएमबाट रकम झिक्ने यी ह्याकरहरुले राष्ट्रिय वाणिज्य बैंकबाट समेत एटीएमबाट पैसा निकाल्ने प्रयास गरेको खुलेको छ । तर वाणिज्य बैंकको एटीएम बुथले नक्कली एटीएम भएको थाहा पाएपछि कार्ड नै फिर्ता गरेन । त्यसपछि ह्याकरहरुले नेप्सअन्तर्गतका बैंकमाथि आक्रमण गरेको पत्ता लागेको छ । अर्को रोचक तथ्य के भने नेपालमा पक्राउ परेका ६ जना ह्याकर नै कम्बोडिया घुमिसकेका छन् ।
एटीएम हृयाक गरी रकम निकाल्ने क्रममै पक्राउ परेका, सीसी क्यामेरा तथा नक्कली एटीएम कार्ड र झिकिएको रकमका आधारमा यी चिनियाँमाथि प्रहरीले संगठित अपराधदेखि बैंकिङ कसुरमा मुद्दा चलाउन खासै समस्या छैन । तर बैंकको समग्र सुरक्षा प्रणालीमाथि नै प्रहार गरी भएको ह्याक कसरी सम्भव भयो ? कुन देशबाट ह्याक भयो ? यिनका पछाडि अरू को को छन् ? यी तथ्य पत्ता लगाउन सक्नु अनुसन्धानका क्रममा सबैभन्दा पेचिलो पक्ष बनेको छ । बैंकहरूलाइ विद्युतीय भुक्तानी सेवा प्रविधि उपलब्ध गराउने कम्पनी नेप्सले सिंगापुरबाट समेत डिजिटल फरेन्सिक विज्ञको टोली बोलाएर एटीएमको जाँच गराइरहेको छ । यता प्रहरीले पनि आफ्नो प्राविधिक टोली परिचालन गरे पनि प्रकरणको अन्तर्य पत्ता लगाउन सकेको छैन ।
यस पटकको एटीएम ह्याक साधारण अपराधमा मात्रै सीमित छैन । यसले समग्र बैंकिङ प्रणालीकै सुरक्षा जोखिमपूर्ण रहेको प्रस्ट देखाएको छ । त्यसैले बैंकको थप सुरक्षाका निम्ति पनि ह्याकले अपनाएको प्रविधि र यसमा संलग्न गिरोहको वास्तविक दायरा पत्ता लगाउनैपर्ने बाध्यता छ ।








