काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अब बैंकले सूचना प्रविधि क्षेत्र (आईटी) र साइबर सुरक्षामा लगानी नबढाए तोकेरै निर्देशन दिने बताएका छन् । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)ले बिहीवार आयोजना गरेको एकदिवसीय ‘प्रिभेन्टिङ साइबर फाइनान्सियल फ्रड्स’ सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
बैंकहरूले साइबर सुरक्षामा लगानी गर्नुको अर्थ भोलिको दिनमा नाफा कमाउन केन्द्रित हुने गभर्नर नेपालको तर्क छ । ‘आईटीमा लगानी नगर्ने बैंकहरूले २–४ वर्षमै नाफा घटेर घाटा बेहोर्नुपर्छ,’ उनले भने । अब राष्ट्र बैंकले बैंकहरूले कुन तालीम कसरी गरेको भनेर खबरसमेत लिने उनले जानकारी दिए । खुला सिमानाकै कारण नेपालमा साइबर आक्रमणको खतरा रहेकाले बैंक सतर्क हुनुपर्ने उनले औंल्याए । आईटीमा आउने नयाँ प्रविधिहरूको बारेमा सचेत रहन उनले आग्रह समेत गरे ।
...








