असोज १, काठमाडौं । करीब २ सातादेखि बन्द रहेको पोईन्ट अफ सेल्स (पोस) मेशिन पुनः सञ्चालनमा आएको छ । चिपमा आधारित कार्डमात्र प्रयोग गर्न सकिने गरी पुनः सञ्चालनमा आएको पोस मेशिनमार्फत सर्वसाधारणले भुक्तानी गर्न सक्ने भएका छन् ।
भिषा कार्ड प्रदायक कम्पनीसँगको छलफलमा उनीहरूले दिएको निर्देशन अनुसार पोस मेशिनमा नयाँ प्रणाली प्रयोग गरी सञ्चालनमा ल्याइएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण क्षेत्रीले बताए । नजिकिदै गरेको दशैंतिहार लगायतका चाडपर्वलाई लक्षित गरेर छोटो समयमा नै प्रणाली अद्यावधिक गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । नेप्सको सञ्जालमा ११ ओटा वाणिज्य बैंक र ७ ओटा विकास बैंकहरू आवद्ध छन् । यी बैंकका कार्डमार्फत पोस मेशिनमा समेत समस्या आएपछि यसलाई बन्द गरिएको थियो । अब भने नेपालभरका पोस मेशिन प्रयोग गरिएका होटल, रेस्टुराँ, सुपरस्टोर लगायतका ठाउँबाट सर्वसाधारणले सामान गरीद गरी भुक्तानी गर्न सहज र सुरक्षित भएको सीईओ क्षेत्रीले बताए ।
चिनियाँ ह्याकरहरूको एक समूहले गत भदौ १४ गते नेप्सको प्रणाली बाइपास गरी करोडौं रुपैयाँ चोरी गरेकाले अल्पकालीन सुरक्षा रणनीतिका रूपमा नेप्सको नेटवर्कमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूको एटीएम कार्ड अन्य बैंकका एटीएम मेशिनमा नचल्ने बनाइएको थियो । साथै, पोस मेशिनमार्फत हुने भुक्तानीमा पनि समस्या आएको थियो । उक्त घटना भएको करीब दुई सातापछि केन्द्रीय बैंकले नेप्सलाई सिस्टम परिवर्तन गरी वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको थियो ।
नेप्सको सञ्जालमा वाणिज्य बैंक अन्तर्गतका बैंक अफ काठमाण्डू, सिटिजन्स, ग्लोबल आईएमई, जनता, नेपाल बंगलादेश, माछापुच्छ्रे, प्रभु, एनआईसी एशिया, प्राइम, सिद्धार्थ बैंक, सनराइज र प्राइम बैंक आबद्ध छन् । यसैगरी विकास बैंक अन्तर्गतका देव विकास, साङ्ग्रिला, ज्योति विकास, लुम्बिनी, एक्सेल, शाइन रेसुङ्गा र ओम डेभलपमेन्ट बैंक नेप्स सञ्जालमा आवद्ध छन् ।








