काठमाडौँ — रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु भएपछि वित्तीय क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रणमा आउने राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । आरटीजीएसले विद्युतीय प्रणालीबाट एउटा खातामा रहेको पैसा तुरुन्तै अर्को खातामा सजिलै स्थानान्तरण हुने भएकाले आपराधिक कारोबार निरुत्साहित हुने उनको दाबी छ । आरटीजीएसको औपचारिक उदघाटन कार्यक्रममा आइतबार गभर्नर नेपाले यस्तो बताएका हुन् ।
आरटीजीएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको उनले बताए । ‘यो अन्तर्राष्ट्रियस्तरको भुक्तानी प्रणाली हो,’ उनले भने, ‘यसले पारदर्शी कारोबार प्रणालीलाई थप व्यवस्थित गर्छ । हामी बैंक तथा वित्तीय संस्थालाई थप व्यावसायिक र पारदर्शी बनाउन लागिपरेका छौं ।’ राष्ट्र बैंकले आरटीजीएसलाई आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ । ठूला भुक्तानीलाई लक्ष्य गरी ल्याइएको यो प्रणाली गत बिहीबारदेखि सुरु गरिए पनि आइतबार मात्र औपचारिक उद्घाटन गरिएको हो । यो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् ।








