काठमाडौँ — रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु भएपछि वित्तीय क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रणमा आउने राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् ।
आरटीजीएसले विद्युतीय प्रणालीबाट एउटा खातामा रहेको पैसा तुरुन्तै अर्को खातामा सजिलै स्थानान्तरण हुने भएकाले आपराधिक कारोबार निरुत्साहित हुने उनको दाबी छ । आरटीजीएसको औपचारिक उदघाटन कार्यक्रममा आइतबार गभर्नर नेपाले यस्तो बताएका हुन् ।
आरटीजीएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको उनले बताए । ‘यो अन्तर्राष्ट्रियस्तरको भुक्तानी प्रणाली हो,’ उनले भने, ‘यसले पारदर्शी कारोबार प्रणालीलाई थप व्यवस्थित गर्छ । हामी बैंक तथा वित्तीय संस्थालाई थप व्यावसायिक र पारदर्शी बनाउन लागिपरेका छौं ।’
राष्ट्र बैंकले आरटीजीएसलाई आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ । ठूला भुक्तानीलाई लक्ष्य गरी ल्याइएको यो प्रणाली गत बिहीबारदेखि सुरु गरिए पनि आइतबार मात्र औपचारिक उद्घाटन गरिएको हो । यो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् ।
हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ । आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकारा पाइनेछ । चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ । हाल नेपाल क्लियरिङ हाउसमार्फत सञ्चालनमा आएको आईपीएस कनेक्ट प्रणालीमार्फत पनि चेकबिना नै रकम स्थानान्तर गर्न सकिन्छ ।
यो प्रणालीबाट धेरै ठूलो रकम स्थानान्तरण गर्न अप्ठ्यारो हुन्छ । यसकारण ठूला कारोबार (हालाई २ लाख रुपैयाँ माथि) आरटीजीएस सञ्चालनमा ल्याइएको हो । यसकारण हाल २ लाख रुपैयाँभन्दा बढी रकम मात्र आरटीजीएसमार्फत एउटा बैंकको खाताबाट अर्को बैंकमा तत्काल भुक्तानी गर्न सकिन्छ । त्योभन्दा साना कारोबारका लागि आईपीएस कनेक्टमै जानुपर्छ ।
आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ । ‘यो प्रणालीको प्रमुख फाइदा भनेकै तत्काल अर्को खातामा रकम जम्मा गर्न सकिनु हो,’ राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मि श्रले भने ।
आरटीजीएस प्रणालीमार्फत रकम स्थानान्तर गर्दा चेक काट्नु पर्दैन । यो प्रणालीका लागि बैंकले निश्चित फाराम तयार पारेका हुन्छन् । ग्राहकले सोही फाराममार्फत आफूले चाहेको व्यक्तिको बैंक खातामा रकम पठाउन सक्छन् । सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो ।
२० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्ने पर्ने बताएको थियो । ‘२० लाखभन्दा बढीको कारोबार आरटीजीएस प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ,’ मि श्रले भने, ‘भर्खर मात्र यो प्रणाली सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ ।’ यो प्रणाली संस्थागत भएपछि अर्को सूचना जारी गरी २० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा आरटीजीएसमार्फत गरिने उनले बताए ।
यो प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले करिब ३० मिनेटमा(२ देखि २० मिनेटमा) राफसाफ भइसक्छ । यसकारण यसलाई लागत उपयुक्त भनिएको हो । हाल ग्राहकले बिहान साढे १० बजेदेखि साढे ३ बजेसम्म मात्र यो प्रणालीमार्फत कारोबार गर्न सक्छन् ।
यो प्रणाली लागू भए पनि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने बताइएको छ । यसकारण आरटीजीएसले कार्यक्षमता अभिवृद्धि हुनुका साथै बजारमा मुद्रा आपूर्तिको गति बढ्ने, अन्तरबैंकिङ कारोबार छिटो र प्रभावकारी हुने उनीहरूको भनाइ छ ।
पहिलो चरणमा राष्ट्र बैंकले वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको हो । वाणिज्य बैंकहरू आरटीजीएसका मुख्य (प्रिन्सिपल) सदस्य हुन् । विकास बैंक र फाइनान्स कम्पनी एसोसिएट सदस्य छन् । आउँदो पुसदेखि विकास बैंक र वित्त कम्पनीमा पनि आरटीजीएस प्रणाली लागू गरिने राष्ट्र बैंकले जनाएको छ ।
आरटीजीएस प्रणाली प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले शुल्क भने तिर्नुपर्छ । यस्तो सेवा बिहान लिँदा प्रतिकारोबार १० रुपैयाँ, मध्याह्न २० रुपैयाँ र साँझ १०० रुपैयाँ तिर्नुपर्छ । बैंकअनुसार यस्तो शुल्क कम पनि हुन सक्छ । हाललाई यो सेवा निश्चित समय (१०ः३० देखि ३ः३० सम्म) गरिएकाले शुल्कबारे पनि उल्लिखितभन्दा फरक व्यवस्था हुन सक्छ ।
आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन् । त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ । खाता भए/नभएको, खातामा पैसा भए/नभएको तथा खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल व्यक्तिको खातामा पैसा पठाइदिने सुविधा उपलब्ध छ ।
निर्माण सुरु गरिएको करिब १८ महिनामा आरजटीजीएस प्रणाली सञ्चालनमा आएको हो । बेलायती सरकारको आर्थिक सहयोगमा राष्ट्र बैंकले उक्त प्रणाली निर्माण गरेको हो । यो प्रणाली निर्माणमा करिब १८ करोड खर्च भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।








