काठमाडौँ, भदौ १८ गते । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो ।
एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् छ ।
उक्त घटनामा पहिचान गरिएका आठ चिनियाँ नागरिकमध्ये छ जना पक्राउ परे । फरार दुई जनाका बारेमा प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ । प्रहरीले विभिन्न नाकामा राखिएको र एटिएम बुथमा रहेको सिसी टिभीको श्रव्यदृश्यलाई अनुसन्धानमा प्रयोग गरिरहेको छ ।







