एटीएम ह्याकले खडा गरेको बैङ्किङ सुरक्षाको बहस
बैङ्क भनेको हजारौँ सर्वसाधारणको निक्षेप जम्मा गर्ने ठाउँ हो । बैङ्कमा चोरी हुँदा चोरिने भनेको तिनै निक्षेपकर्ताले जम्मा गरेको रकम हो । यसकारण पनि बैङ्किङ क्षेत्रको घटनाले आम सर्वसाधारणमा पनि डर पैदा हुनु स्वाभाविक हो । बैङ्किङ क्षेत्रमा गत शनिबार भएको घटनाले आम निक्षेपकर्तालाई तनाव थप्यो भने बैङ्कहरुलाई पाठ सिकायो । यद्यपि, राष्ट्र बैङ्कले निक्षेपकर्ताको पैसा सुरक्षित रहेको स्पष्ट पारिसकेको छ ।
घटना हो चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी नक्कली भिसा कार्डमार्फत साढे ३ करोड चोरेको ।
तर आईटीविज्ञ यसमा नेपाली बैङ्कहरुकै कमजोरी रहेको बताउँछन् । आईटीविज्ञ विनोद ढकाल भन्छन्, ‘बैङ्कहरुले साइबर सुरक्षाका लागि खासै रकम खर्च गरेको देखिएको छैन । सिस्टममा केही नछिरून् भनेर फायरवाल राख्ने कुरा हुन्छ । सफ्टवेयर हुन्छ, जसले अरुलाई भित्र छिर्नबाट रोक्छ । त्यो सफ्टवेयर नेपालमा बन्दैन । यो महँगो पर्न जान्छ । महँगै लगानीमा सुरक्षा नअपनाएको देखियो ।’
यता अर्का सूचना प्रविधिका जानकार दिवस न्यौपाने बैङ्कहरुले नाफा राम्रै कमाउने तर सुरक्षामा भने खासै खर्च गर्न नचाहेको यो घटनाले पुष्टि गरेको बताउँछन् । एटीएम, त्यसका लागि चाहिने पूर्वाधार र कोर बैङ्किङलाई चुस्त किसिमले मनिटरिङ गर्नुपर्ने उनको भनाइ छ ।
अर्का विज्ञ मनोहर भट्टराई वित्तीय क्षेत्रका लागि आईटी इमरजेन्सी रेस्पोन्स टिमको आश्यकता आँैल्याउँछन् । उनी भन्छन्, ‘विदेशमा यस्ता खालको टिम हुन्छ, नेपालमा पनि यो टिम सरकारी तबरबाटै खडा गर्नुपर्छ ।’
अहिलेको घटना सामान्य प्रकृतिको भएको बताउँदै विज्ञ दिवस न्यौपाने बताउँछन्, यो घटनाका लागि धेरै ठूलो प्राविधिक ज्ञान चाहिँदैन । कसैले मास्टर माइन्डबाट चलाएको र फ्रड गर्न भाडाका मान्छे पठाउने गरेका हुन्छन् । यस्तो किसिमको आक्रमण कानुन नभएको, भएको कानुन पनि कमजोर भएको, कार्यान्वयन नहुने देशमा हुन्छ । बैङ्कहरुले एटीएम नियन्त्रणसम्बन्धी प्रणाली नराखेको देखियो । सबैभन्दा पहिला यस्तो प्रणाली सबै बैङ्कहरुले अपनाउनमा जोड दिनुपर्छ ।
******
बैङ्कहरुले साइबर सुरक्षामा पनि लगानी गर्नुपर्छ
...








