चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बिआइएन) तथा एटिएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतीय एसबिआई बैंकको एटिएमबाट एक करोड ७६ लाख तथा नेपाली बैंकको एटिएमबाट एक करोड ६८ लाख निकालेका हुन् । नेपालमा नेपाल एसबिआई, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको खुलेको छ ।
यो घटना अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित कमिटी स्रोतले सबैभन्दा बढी प्रभु बैंकको बिआइएन नम्बर प्रयोग गरी दुई करोड ४३ लाख निकालेको जनायो । त्यस्तै, ग्लोबल बैंकको ३८ लाख, सनराइज् बैंकको २४ लाख, माछापुच्छ«े बैंकको २० लाख र एनआइसी एसिया बैंकको १७ लाख रकम झिकिएको हो ।
‘अहिलेसम्म भारतको एटिएमबाट भारु एक करोड पाँच लाख र नेपाली बैंकका एटिएमबाट एक करोड ७६ लाख निकालिएको खबर छ,’ कमिटी संयोजक मिश्रले भने, ‘भारत र नेपालमा गरेर २५ सयभन्दा बढी पटक कार्ड घोटेर रकम झिकिएको देखिन्छ ।’ कमिटीले मंगलबारसम्म प्रतिवेदन तयार गरिसक्नुपर्ने जिम्मेवारी पाएको छ ।
एउटा बैंकको कार्ड तथा बिआइएन नम्बर प्रयोग गरेर अर्को बैंकको एटिम बुथबाट रकम झिकिएकाले झिकिएको रकमको दायित्वको विषयमा भने अझै द्विविधा छ । बिआइएन नम्बर र कार्ड प्रयोग भएका बैंकहरूलाई स्विच प्रणालीको सुविधा दिइरहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)लाई समेत यो दायित्व पर्न सक्छ । दायित्वको टुंगो राष्ट्र बैंकको नेतृत्वमा बनेको कमिटीले समेत लगाउन सक्दैन । फरेन्सिक कम्पनीले आएर अध्ययन गरेपछि मात्रै यसको टुंगो लाग्न सक्छ ।
ह्याकका लागि सूचना अपरेट गर्न वी च्याट प्रयोग
चिनियाँ ह्याकरले एटिएमबाट रकम झिक्ने क्रममा सूचना अपरेट गर्न चिनियाँ सामाजिक सञ्जाल वी च्याट प्रयोग गरेको भेटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न आठमध्ये ६ अभियुक्त पक्राउपछि यो तथ्य खुलेको हो । प्रहरीका अनुसार पक्राउलगत्तै सबैको मोबाइल फोन नियन्त्रणमा लिइएको थियो । मोबाइल परीक्षण गर्दा उनीहरूले ह्याकका लागि सूचना आदानप्रदान गर्न वी च्याट प्रयोग गरेको भेटिएको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।
‘एटिएम ह्याकका लागि यिनीहरूले वी च्याट प्रयोग गरेको भेटिएको छ । यिनीहरूलाई कसैले वी च्याटमार्फत एटिएम बुथको लोकसन दिन्छ । सोहीअनुसार यिनीहरू बुथमा जान्छन् । लगत्तै अर्को आदेश आउँछ । आदेश भएअनुसार यिनीहरू बुथभित्र प्रवेश गर्छन् । भिसा कार्ड झिक्छन् । एटिएममा भिसा कार्ड घोट्छन । वी च्याटमार्फत नै नेटवर्क ह्याक गर्न मिल्ने कोड नम्बर आउँछ । सँगै कोड नम्बर प्रयोगका लागि अर्को आदेश आउँछ । जब ह्याकरले भिसामा कोड हान्छ, एटिएम भित्रको रकम फरर्र बाहिर आउँछ । यिनीहरूले यसैगरी विभिन्न बैंकका एक करोड ७५ लाख रुपैयाँ लुटेको देखिन्छ,’ डिएसपी बोगटीले भने ।
को हुन् ह्याकरलाई वी च्याटमा आदेश दिने ?
प्रहरीका अनुसार घटनामा संलग्न चिनियाँ मुलका फ्रेन्च नागरिक झु लिफ लीसहित लिन जिनमिङ, लु जियालिङ, झु लियाङ आङ, क्वु याङयिङ र चेन विनविन पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले ल्यापटप कम्युटर, विभिन्न ब्रान्डका मोबाइल फोन र केही डिभाइस बरामद गरेको छ । प्रहरीले यसलाई परीक्षण गर्न डिजिटल फरेन्सिक ल्याब (डिएफएल) मा पठाएको छ । ल्याबमा बरामद उपकरणको बल्ल परीक्षण सुरु भएको छ । ल्याबबाट आएको प्रतिवदेनपछि मात्रै वी च्याटमार्फत उनीहरूलाई आदेश दिने ह्याकर पत्ता लाग्ने प्रहरीको भनाइ छ ।
परिसरका डिएसपी बोगटीले भने, ‘उनीहरूबाट बरामद विभिन्न उपकरण परीक्षणका लागि ल्याबमा पठाएका छौँ । रिपोर्ट आएको छैन । यिनीहरूलाई कसैले अपरेट गरेजस्तो देखिन्छ । वी च्याटमार्फत भएको अर्डर हेर्दा त्यस्तै देखिन्छ । यो आदेश कहाँबाट आएको हो, आदेशकर्ता को हो जस्ता प्रश्नको उत्तर रिपोर्ट आएपछि मात्रै खुल्ला ।’
कार्ड तथा बिआइएन नम्बर प्रयोग भएका बैंक र झिकिएको रकम
- प्रभु बैंक - २ करोड ४३ लाख
- ग्लोबल आइएमई बैंक - ३८ लाख
- सन्राइज बैंक - २४ लाख
- माछापुच्छ्रे बैंक - २० लाख
- एनआइसी एसिया - १७ लाख
रकम साट्ने तीन नेपाली पक्राउ








