आइतबारको सबैभन्दा ठूलो समाचार बन्यो- नेपाली बैँकको एटिएम सिस्टम ह्याक गरी करोडौँ रकम कुम्ल्याएको। केहीले त जोक पनि गरे- अब चोर, लुटेराहरुमा समेत नेपाल आत्मनिर्भर हुन छाड्यो, चीनबाट आउन थाले। पाँच जना चिनियाँ नागरिक शनिबार पक्राउ परे। २४ घण्टा बितिसक्दा पनि यो काण्डका केही खुल्न नसकेका रहस्य यस्ता छन्-
रहस्य नम्बर १ : कति रकम लुटियो?
एउटा अर्को जोक छ- एउटा ग्याङले बैँक लुटेका हुन्छन्। एक जना लुटेराले अर्को लुटेरालाई भन्छ- कति रकम छ गनौँ न। अर्कोले जवाफ दिन्छ- छाड्दे, किन दुःख गर्नु, भोलि पत्रिकाले छापिहाल्छ नि।
तर यो काण्डमा त्यस्तो स्थिति छैन। अहिलेसम्म कति रकम लुटयो भन्नेसमेत थाहा हुन सकेको छैन। पक्राउ परेका पाँच जनाबाट कूल १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ भेटिएको छ। ९ हजार अमेरिकी डलर र केही विदेशी मुद्रा पनि भेटिएको छ। तर नेपालका एटिएमबाट झर्ने भनेको नेपाली रुपैयाँ मात्र हो, त्यसैले विदेशी मुद्रा लुटेको मान्न सकिएन। नेपाली रुपैयाँ नै पनि कति लुटेका हुन्, स्पष्ट भइसकेको छैन।
रहस्य नम्बर २ : भारतबाट पनि रकम झिकेका त छैनन्?
नेपालको एटिएम कार्ड चलाएर भारतका एटिएमबाट पनि रकम झिक्न मिल्छ। जसरी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्विच ह्याक गरी नेपालका एटिएमबाट रकम चोरियो, उसैगरी भारतबाट पनि रकम झिकिएको त छैन?
रहस्य नम्बर ३ : कति जनाको ग्याङ थियो?
घटनाक्रम बुझ्दा प्रहरीले पाँच जना समात्न पनि संयोगको भर पर्नुपरेको देखिएको छ। बैँकका कर्मचारीले दिएको सूचनाको आधारमा दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट पैसा निकालिरहेको Zhu Liangang (राहदानी नम्बर ईसी १९३७५५८) पक्राउ पर्नु, उनको साथमा २० वटा एटिएम कार्ड फेला पर्नु र माया मनोर बुटिक होटलको दुई वटा कोठाको साँचो भेटिनु। तत्काल प्रहरी होटल पुग्दा भाग्दै गरेका राहदानी नम्बर ई ३२३७७७१३ वाहक Lin Jianmeng, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक Luo Jialei, हदानी नम्बर ईएच ०२७७६५० वाहक Qiu Yunqing र राहदानी नम्बर ई ८९०५६८२५ वाहक Chen Bin Bin पक्राउ परे। यी बाहेक यसरी एटिएम ह्याक गरी रकम लुट्नमा कति जनाको ग्याङ संलग्न थियो भन्ने खुलिसकेकोको छैन।
रहस्य नम्बर ४ : मास्टरमाइन्ड को?
विद्युतीय कार्डको सञ्जाल र भुक्तानीसम्बन्धी कार्य गर्नका लागि नेपाल राष्ट्र बैंकबाट गएको जेठमा मात्रै अनुमति पाएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्विच असुरक्षित छ, यसलाई आक्रमण गर्न सकिन्छ भन्ने प्राविधिक ज्ञान भएको र त्यो कमजोर सुरक्षा प्रणालीमा प्रहार गरी रकम लुट्न सक्ने योजना बनाएर चिनियाँ नागरिकलाई रकम झिक्न पठाउने सम्पूर्ण योजनाका मास्टरमाइन्ड को हुन्? ती नेपाली नै हुन् कि विदेशी? कहाँबाट उनले यो निर्देशन दिए? नेपालमै बसेर कि विदेशमा बसेर? यो रहस्य पनि खुल्न सकेको छैन।
रहस्य नम्बर ५ : पहिले पनि लुटिएको त थिएन रकम?
बैँक तथा वित्तीय संस्थाहरुको संयुक्त लगानीमा स्थापित र १० वटा बैँक तथा वित्तीय संस्थालाई भिसा कार्ड सेवा होस्टिङ र स्विचिङको सेवा दिँदै आएको नेप्सले सुरक्षाका जतिसुकै गफ हाँके पनि यसको कमजोर सुरक्षा प्रणाली यो घटनाले छरपष्ट बनाइदिइहाल्यो।
हेर्नुस् समाचारमा सुरक्षा प्रणालीको गफ-

यस पटक त अस्वभाविक रुपमा रकम निकालिएको देखेर बैँकका कर्मचारीले प्रहरीलाई फोन गरेर तत्काल खबर गरेको र प्रहरीले पनि तत्काल एक्सनमा उत्रिएकोले यो नतिजा आयो। कतै पहिले पनि यसरी नै रकम लुटिएको त छैन?
हालसम्म थाहा भएका तथ्य
(प्रहरीले प्रारम्भिक अनुसन्धानपछि सार्वजनिक गरेका तथ्य)
– पक्राउ परेका पाँच जना चिनियाँ नागरिकहरु एटिएमबाट रकम लुट्नै भनेर चीनबाटै योजना बनाएर नेपाल आएका थिए। उनीहरु शुक्रबार नेपाल आएका थिए, शनिबार रकम निकाले र आइतबार क्यासिनोमा रमाइलो गरी सोमबार चीन फर्कने योजना बनाएका थिए।
– पाँच जना बाहेक अरु तीन जना पनि उनीहरुको ग्याङमा थिए। तर भाग्न सफल भए।
– प्रहरीले पाँच जनाबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ भेट्टाएको छ। राष्ट्र बैंकका निर्देशक बमबहादुर मिश्रले भने ३ करोड ५४ लाख रुपैयाँ झिकिएको बताएका छन्। जसको सिस्टम ह्याक भएको हो उसले अर्थात् (नेप्स) ले पनि साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको बताएको छ। यो हो भने भागेकाहरुसँग अहिलेको भन्दा बढी अर्थात् २ करोड चानचुन रकम छ।
– पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ। कार्ड भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको प्रयोग भएको छ।
– नेपाल राष्ट्र बैँकले व्यक्तिको खाताबाट नभई बैँकको खाताबाट रकम चोरिएको प्रष्ट पारेको छ।
– यसअघि ग्राहकको पिन नम्बर एटिएम बुथमा पासो थापरे चोर्ने र त्यसबाट रकम झिक्ने खालको फ्रड भइरहेको थियो। यस पटक भने सिस्टम ह्याक गरी एडभान्स सिस्टम प्रयोग गरिएको छ।
अन्तिममा सबैभन्दा महत्त्वपूर्ण-
– अर्बौँको नाफा गर्ने बैँकहरुले सुरक्षा व्यवस्था भने निकै कमजोर राखेको भेटियो। अचेलको सुरक्षा भनेको सुरक्षा गार्ड राखेर मात्र हुने हैन, यस्ता खाले साइबर सुरक्षाको चुनौतिमा पनि ध्यान दिनै पर्ने हुन्छ।
यसरी भाग्न सक्छन् रकम चोर्नेहरु
माथि उल्लेख भए अनुसार भागेकाहरुसँग २ करोड चानचुन रकम छ। नेपालको कानुन अनुसार कुनै पनि विदेशीले नेपालमा आएर विदेशी मुद्रालाई नेपाली रुपैयाँमा परिर्वतन गर्न पाउँछ। नेपाल रकम खर्च गरिसकेपछि स्वदेश जाने बेला त्यो रकमलाई विदेशी मुद्रामा परिवर्तन गरेर लान पनि पाइन्छ।
तर नेपालमा आएर आफूले ल्याएको भन्दा बढी परिमाणमा डलर र युरोमा नै परिणत गर्न कानुनले दिँदैन। टुरिस्ट भिसामा आएकाहरुले नेपालमा काम गर्नै पाउँदैनन् त कसरी बढी रकम बनाउँछन्?
तर अघिल्ला केसहरुमा यस्ता अपराधीहरुले भने नेपालमा आएर एटिएमबाट अर्काको लाखौँ नेपाली रुपैया निकालेर डलर र युरोमा सटही गर्दा समेत चासो र खोजी नगरेको प्रहरी अनुसन्धानले देखाएको छ। यस्ता अपराधीहरुले विभिन्न वित्तीय संस्था र मनी चेन्जरहरुलाई बढी रकम कमिसन दिएर अवैधानिक रुपमा सटही गर्छन्। अहिले अमेरिकी डलरको सटही राष्ट्र बैँकको दर अनुसार ११४ रुपैयाँ ५५ पैसा छ। तर यस्तो गतिविधिमा लागेका गिरोहले १२५ रुपैयाँसम्म दिएर डलर साट्ने गर्छन्। अब यिनीहरुले पनि यसै गरी रकम साटे भने त सजिलै उम्कन सक्ने भए। त्यसैले ल्याएको भन्दा बढी रकम साट्न नपाउने गरी कडा निर्देशन दिन जरुरी छ।
Sources: My Sansar dot com








