ब्याङ्किङ् प्रणालीमा ह्याकर हमला: ढुक्कसँग कारोबार गर्न राष्ट्रब्याङ्कको आग्रह‍


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्याङ्किङ् प्रणालीमा ह्याकर हमला: ढुक्कसँग कारोबार गर्न राष्ट्रब्याङ्कको आग्रह‍

ह्याकरहरू केही ब्याङ्कको एटीएम प्रणालीमा पसेको भएपनि त्यसबाट सर्वसाधारणलाई असर नपर्ने भन्दै "ढुक्कसँग ब्याङ्किङ कारोबार गर्न" नेपाल राष्ट्र ब्याङ्कले अनुरोध गरेको छ। 

बीबीसीसँग कुरा गर्दै राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, "हामी सबैलाई ढुक्कसँग ब्याङ्किङ कारोबार गर्न आग्रह गर्छौँ र एटीएम प्रयोग गर्न पनि जोखिम छैन भनेर आश्वस्त पार्न चाहन्छौँ।"

राष्ट्र ब्याङ्कले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ ब्याङ्किङ प्रणालीबाट नोक्सान भएको जनाएको छ। 

शनिवार केही ह्याकरहरूले नेपालको ब्याङ्किङ् प्रणालीमा हमला गर्दै एटिएमबाट पैसा चोर्ने प्रयास गर्दा अहिलेसम्म पाँच जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। 

पक्राउ गरिएका ह्याकरहरूका साथबाट १ करोड २६ लाख रूपैयाँ र १३२ नक्कली एटिएम कार्डहरू बरामद गरिएको प्रहरीले जनाए पनि अझै क्षतिको पूर्ण विवरण आइनसकेको बताइएको छ। 

त्यही विवरण बुझ्ने र ब्याङ्किङ् प्रणालीको सुरक्षा पुनर्जाँच गर्न भन्दै आइतवार दिउसोसम्म पनि थुप्रै ब्याङ्कका एटिएम मेसिनहरू चलेका छैनन्। 

कस्तो हमला?

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले ब्याङ्कहरूको हवाला दिँदै ह्याकरहरूले भिसाको सिस्टम ह्याक गरेको बीबीसीलाई बताएका छन्। 

त्यसको सङ्केत भने प्रभु ब्याङ्कको एउटा एटिएम बक्समा अस्वाभाविक ढङ्गबाट पैसा निस्किएपछि थाहा भएको र लगत्तै प्रहरीले आफ्नो कारबाही सुरु गरेको बताइएको छ।

"यो सीमित ह्याकरहरूको काम नभई निकै सङ्गठित हमला भएको देखिन्छ जसको सरोकारवाला सबै बसेर समीक्षाको काम भइरहेको छ," प्रहरी बरिष्ठ उपरीक्षक सुवेदीले बताए।

प्रहरीले आइतवार दिउसो पत्रकार सम्मेलनमार्फत् पक्राउ गरिएका पाँचजना चिनियाँ ह्याकरहरू सार्वजनिक गरेको छ।

ती ह्याकरहरूले बिदाको दिन पारेर रकम निकाल्ने योजना नेपाल आउनु अगाडि नै बनाएको प्रहरीले जनाएको छ। 

तर नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने त्यसलाई 'कोर ब्याङ्किङ् प्रणाली' (मुख्य प्रणाली) मा हमला भएको नभइ कुनै एप्पलिकेशनमा मात्र सीमित भएको बताए। 

उनले विस्तृत अनुसन्धान भइरहेको बीबीसीलाई बताए। 

खाताहरू सुरक्षित 

नेपाल राष्ट्र ब्याङ्कले उक्त हमलामा केही एटिएम मेसिनहरूबाट मात्र पैसा झिकिएकोले खातावालहरू आत्तिनु नपर्ने बताएको छ।

राष्ट्र ब्याङ्कका प्रवक्ता निरौला भन्छन्: "कुनै पनि खातावालाहरूको पैसामा असर परेको छैन।"

यस हमलामा प्रभु ब्याङ्क, एनआईसी एसिया ब्याङ्क र नबिल ब्याङ्क अहिलेसम्म सबैभन्दा बढी प्रभावित देखिएका छन्। 

"धेरै ठूलो हमला होइन। कुनै मालवेर (खराब सफ्टवेर) मार्फत् एटिएममा हमला भएको जस्तो देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौँ," नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुँगानाले बताए। 

'अहिलेसम्मकै ठूलो'

यसअघि २०७४ सालमा तिहारको छेको पारेर एनआईसी एसियामा यस्तै खाले हमला भएको थियो। 

तर त्यसमा चाहिँ सफ्टवेरको माध्यमबाट एउटा कम्प्युटर प्रणालीभित्र छिरेर सर्भरबाट कारोबार गराइएको थियो। 

साइबर सुरक्षा विज्ञहरूका भनाइमा अहिलेको हमलामा चाहिँ ब्याङ्कको प्रणाली र सर्भर दुवैलाई छोएको देखिन्छ। 

साइबर सुरक्षा विज्ञ सरोज लामिछाने भन्छन्, "पैसाको हिसाबले भन्दा पनि जुन तहको प्रविधि तोडिएको छ त्यस दृष्टिले अहिलेसम्मकै ठूलो हमलाको रूपमा देखिन्छ।"

अहिलेको हमलामा मुख्य रूपमा अन्तर ब्याङ्क कारोबार हुने 'स्विफ्ट'सम्म ह्याकरहरू छिरेको देखिन्छ। 

जसले गर्दा कुनै ब्याङ्कको एउटा पक्षमा मात्र क्षति नपुर्‍याइकन एक दर्जनभन्दा बढी ब्याङ्कहरूको सञ्जाल रहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) मा नै हमला भएको देखिएको बताइएको छ। 

नेपालमा अहिले सञ्चालन हुने एटीएमहरू चारवटा त्यस्ता भिन्न सञ्जालका भरमा सञ्चालन हुनेगर्छन्। 

नेप्सका अतिरिक्त नबिल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क र हिमालयन ब्याङ्कसँग त्यस्ता आफ्नै सञ्जाल छन्। जसले गर्दा हरेक ब्याङ्कमा हुने कारोबारको जाँच र पुष्टि यी मुख्य सर्भरमा भएपछि मात्र अन्तिम कारोबार हुन्छ। 

अहिलेको हमला त्यहिँ भएको देखिने साइबर सुरक्षा विज्ञहरू ठान्छन्।

Read More
  • MBL - below news