काठमाडौं- बैंकहरुले आफ्ना शाखा विस्तार गरिरहेका छन्। त्योसँगै एटिएमको पहुँच पनि सेवाग्राहीकहाँ पुगेको छ।
यसरी हेर्दा नेपालको वित्तीय पहुँच कति होला? सरकारले वार्षिक नीति तथा कार्यक्रम र मौद्रिक नीतिले वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। चालु आर्थिक वर्षभित्रै ७५३ वटै स्थानीय निकायमा वाणिज्य बैंकका शाखाको विस्तार गरिसक्ने सरकारको लक्ष्य छ।
भदौ ११ गतेसम्ममा ७३६ वटा स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन्। बाँकी १७ वटा स्थानीय तहमा केही प्राविधिक कारणले शाखा विस्तार हुने नसकेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी बताउँछन्।
नेपाल राष्ट्र बैंकका अनुसार हालसम्ममा ‘क’ वर्गका वाणिज्य बैंकको शाखा संख्या ३ हजार ५ सय ६४, ‘ख’ वर्गका विकास बैंकहरुको शाखा संख्या १ हजार २ सय ७०, ‘ग’ वर्गका वित्त कम्पनीहरुको शाखा २ सय ११ र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका शाखा संख्या ३ हजार ५ सय ८३ गरी मुलुकभर ८ हजार ६८६ वटा शाखा विस्तार भइसकेका छन्।
यसरी बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३ हजार ४ सय जनसंख्याले सेवा लिइरहेका छन्।
हालसम्ममा यस्ता बैंक तथा वित्तीय संस्थामा कर्जा खाता १४ लाख ३९ हजार र निक्षेप खाता २ करोड ७८ लाख पुगेको छ। त्यसैगरी, ३ हजार ३१६ वटा एटिएम, १ हजार ५३० वटा शाखारहित बैंकिङ वटा सञ्चालित छन्। मोबाइल बैकिङ गर्ने ग्राहक साढे ८३ लाख र इन्टरनेट बैंकिङका ग्राहक ९ लाख १७ हजारको हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
हालसम्ममा जारी भएका डेबिड कार्डको संख्या ६२ लाख ८५ हजार तथा क्रेडिट कार्डको संख्या २ लाख ७५ हजारको हाराहारीमा रहेको छ। हाल सरकारले सबै नेपालीको बैंक खाता खोल्ने अभियान पनि अगाडि बढाइरहेको छ।








