अचम्म लाग्छ, हिजोआज जता जाऊँ मानिसहरू सरकारको आलोचना गर्न मात्र उद्यत देखिन्छन् । नेपाली जनता सरकारसँग किन निहुँ खोजिरहेका छन् होला ? निहुँ पनि कस्ता कस्ता, हेर्नुस् न !
- सरकारले बिजुली दिन नसकेकाले उनीहरूले जेनेरेटर र इन्भर्टर किनेका रे ।
- सरकारले खानेपानी दिन नसकेकाले उनीहरूले सबमर्सिभल पम्प किनेका रे । खानलाई थप जार र बोतल पानी किनेका रे ।
- सरकारले सुरक्षा दिन नसकेकाले उनीहरूले निजीक्षेत्रबाट सुरक्षा गार्डहरूलाई तलब दिएर
- राखेका रे ।
- सरकारी स्कूल, कलेजले राम्रो शिक्षा दिन नसकेकाले उनीहरूले निजीक्षेत्रका स्कूल÷कलेजमा आफ्ना छोराछोरी महँगो पैसा तिरेर पढ्न पठाएका रे ।
- सरकारी अस्पतालहरूले बिरामी हुँदा राम्रो उपचार र सेवा दिन नसकेकाले ढाड सेकिए पनि सही उपचारका लागि भन्दै महँगा प्राइभेट अस्पतालहरू धाएको रे ।
- सरकारले पब्लिक यातायात प्रणाली चुस्त, दुरुस्त र सहज नबनाएकाले मोटरसाइकल र गाडी खरीद गर्न ज्यान छाडेर लागेका रे । ल हेर्नुस् त !
त्यति मात्र कहाँ हो र ? अझ एक कदम अगाडि बढेर मान्छेहरू यतिसम्म भन्न थालेका छन् कि जनतासँग सयौं जुक्ति निकालेर सरकारले कर उठाउँछ । तर, त्यो पैसा उसले सामाजिक हितका नाममा कर नतिर्नेहरूलाई पो विभिन्न सुविधा उपलब्ध गराउँछ रे । माथिदेखि तल्लो निकायका भुरे टाकुरे नेताहरूलाई समेत विलासी गाडी लगायत सामान किन्दिएरै पैसा सिध्याउँछ रे । अझ त्यो पैसाले ठूलाठालुलाई उपचार गर्न भन्दै विदेश समेत् पठाउँछ रे । तर यता,
- सरकारले न्यायालय त बनाउँछ, तर त्यसले न्याय दिँदैन रे ।
- सरकारले प्रहरी चौकी त खोल्छ, तर त्यसले जनतालाई सुरक्षा दिनुको साटो राजनीतिक दल र तिनका नेता, हुक्के र बैठकेका लागि मात्र काम गर्छ रे ।
- सरकारले बाटा, घाटा, पुल त बनाएको जस्तो गर्छ, तर त्यसका लागि छुट्ट्याइएको बजेटमध्ये झन्डै ८०÷९० प्रतिशतसम्म पैसा ठेकेदारको र आफ्नै भुँडीमा हाल्छ रे ।
यसको सूची लामै छ....
जनतासँग विभिन्न करका नाममा उठाएको पैसा जति मन्त्री, नेता, कर्मचारीका तलब, भत्ता, सुविधामै सिद्दिन्छ रे । चन्दाका नाममा लिएका पैसा समेत धेरै त विदेशी बैंकमा पो जान्छ रे ।
एउटा उद्यमीले २ देखि १० प्रतिशत मार्जिनमा काम गर्छ । तर उद्यमीले ऋणधन गरेर, रातदिन टेन्सन लिएर कमाएकोबाट सरकारलाई चैं ३० प्रतिशत टक्र्याउन पर्छ रे ।
- त्यसै भएर पाएसम्म भ्याएसम्म कर कम तिर्न वा नतिर्न पाए हुन्थ्यो रे ।
- त्यसबाट अलिअलि रकम बचत गर्न पाए आफू आफ्ना बा, आमा, छोरा, छोरीका लागि आर्थिक रूपमा सुरक्षा दिन सकिन्थ्यो रे ।
- अझ बुढेसकालमा अलपत्र पर्न पर्दैन भनेर पनि बचत गर्न कर कम तिर्न पाए हुन्थ्यो रे ।
ल ! यस्तो पनि कहीँ हुन्छ ? ह्वाँ सरकार भने नेपाली जनतालाई कसरी सुखी र समृद्ध बनाउने भनेर दिलोज्यानले लागिराछ । यता जनताको भने सोच यस्तो छ । हैन के भा होला नेपाली जनतालाई ? दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । तर नेपाली जनताको सोच त्यहीँको त्यहीँ नै छ । ह्वाँ प्रधानमन्त्रीले सिंगापुरबाट भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद्को बैठक चलाउन शुरू गरिसके । देशलाई सिंगापुर बनाउन किन प¥या छ र, सिंगापुर बसेरै देश चल्ने भएपछि ? तर, नेपाली जनताको सोच भने खाली यो भएन र त्यो भएन भन्नेमै सीमित छ ।
त्यसैले नेपाली जनताले समयमै कुरो बुझेर आफ्नो सोच परिवर्तन गरून् र सरकारको भजन गाउन शुरू गरिहालून् । जय देश ! जय सरकार !








