सरकारको वित्तीय पहुँच अभिवृद्धि गर्ने नीतिका कारण गाउँगाउँमा बैंक पुगेका छन् । वाणिज्य बैंकहरु नै नेपालका अधिकांश स्थानीय तहमा पुगिसकेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार, ७३२ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् भने बाँकीमा पनि पुग्ने क्रममा रहेका छन् । यसबाहेक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुले पनि दुर्गम स्थानहरुमा शाखा विस्तार गर्दै सेवा दिइरहेका छन् । शाखा संचालन गर्न कठिन हुने स्थानहरुमा सेवा दिनका लागि शाखारहित बैंकिङ सेवा संचालन गरि सकेसम्म सबै सर्वसाधारणलाई बैंकिङ प्रणालीमा समेट्ने प्रयास गरिएको छ ।
वित्तीय पहुँच बढ्यो
पछिल्लो केही समयमा वित्तीय पहुँच अभिवृद्धिमा निकै सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा र ग्राहकहरु धमाधम बढिरहेका छन् । जेठ मसान्तसम्मको तथ्यांक अनुसार, वाणिज्य बैंकहरुको शाखा संख्या ३५३९, विकास बैंकहरुको १२५०, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३५७० गरी कुल शाखा संख्या ८५६४ पुगेको छ । २०७६ जेठ मसान्तको तथ्याङ्कलाई आधार मान्दा बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३४११ जनसंख्याले सेवा लिनसक्ने अवस्था रहेको छ । २०७६ बैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड ७३ लाख तथा कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको छ । २०७५ चैत मसान्तमा एटीएम संख्या ३१८८ रहेको छ । त्यसैगरी, मोबाइल बंैकिङ्गका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको छ । २०७६ बैशाखमा लघुवित्त वित्तीय संस्थाहरुको कुल बचत सदस्यको संख्या ४१ लाख ५८ हजार र ऋणीको संख्या २६ लाख १३ हजार पुगेको छ । शाखा संख्या बढेसँगै बैंकमा पैसा जम्मा गर्नेको संख्या बढेपनि बैंकबाट कजौ लिएर उद्यमी बन्नेको संख्या भने उल्लेख्य रुपमा बढ्न सकेको पाइँदैन ।
विदेशीनेको संख्या उत्तिकै
अझै पनि रोजगारीको खोजीमा विदेशीने संख्या घट्न सकेको छैन । नेपालमा पनि बैंकहरुको मद्दतबाट उद्यमी बन्न सकिन्छ भन्ने विश्वास दिलाउन सकिएको पाइँदैन । निर्यातको तुलनामा आयातको वृद्धिदर अत्याधिक हुँदा वैदेशिक व्यापार घाटामा कमी आउन सकेको छैन । जेठ मसान्तसम्ममा व्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगिसकेको छ । यसका लागि विदेशीएका युवालाई नेपालमा नै उद्यम गर्ने वातावरण बनाउनुपर्छ र निर्यातयोग्य उत्पादनमा जोड दिनुपर्छ । यस कार्यमा बैंक तथा वित्तीय संस्थाहरुको सहयोग चाहिन्छ । बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ ।
उद्पादनमूलक क्षेत्रमा बैंकहरुको लगानी








