सामाजिक उद्यमशीलतामार्फत १९ हजारभन्दा बढी रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना
काठमाडौँ । नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता प्रवर्द्धन कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले पाँच वर्षमा १ हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप प्रदान गरेको छ। सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको कार्यक्रमबाट हालसम्म ३१८ वटा उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकले जनाएको छ।
सामाजिक तथा आर्थिक समस्या पहिचान गरी उद्यमशीलतामार्फत दिगो समाधान खोज्ने उद्देश्यसहित सुरु गरिएको नबिल एसएसईले युवालाई उद्यम स्थापना र सञ्चालनका लागि आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा व्यावसायिक सञ्जाल उपलब्ध गराउँदै आएको छ।
बैंकका अनुसार कार्यक्रमअन्तर्गत सञ्चालित फेलोसिप र सर्टिफिकेट कोर्सबाट हालसम्म १ हजार ५८० जना लाभान्वित भएका छन्। फेलोसिप कार्यक्रमका छ समूहबाट ११३ जना सहभागी प्रशिक्षित भएका छन्। उनीहरूको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भएका छन्। त्यस्तै, विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएको सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन्, जसबाट २२५ वटा उद्यम स्थापना भएका छन्।
कार्यक्रमले व्यवसाय स्थापना गर्ने सीपसँगै सामाजिक समस्या समाधानलाई उद्यमशीलताको केन्द्रमा राख्दै आएको छ। सहभागीहरूले व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता, वित्तीय व्यवस्थापन, बजार विस्तार, सामाजिक प्रभाव मापन, लगानी आकर्षण तथा उद्यम सञ्चालनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्ने अवसर पाएका छन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पाँच वर्षको उपलब्धिले सामाजिक उद्यमशीलतामार्फत दिगो परिवर्तन सम्भव रहेको देखाएको बताए।
“नबिल एसएसईले उद्यमशीलतालाई केवल आर्थिक गतिविधिका रूपमा नभई सामाजिक समस्या समाधान र सकारात्मक परिवर्तनको प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ। पछिल्ला पाँच वर्षका उपलब्धिले सही ज्ञान, मार्गदर्शन र अवसर प्राप्त हुँदा नेपाली युवाले आफ्ना नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय र राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छन् भन्ने प्रमाणित गरेको छ,” ज्ञवालीले भने।
उनले आगामी दिनमा पनि सामाजिक उद्यमशीलताको प्रवर्द्धनमार्फत समावेशी आर्थिक विकास र दिगो सामाजिक रूपान्तरणका लागि बैंक प्रतिबद्ध रहने बताए।
नबिल एसएसईअन्तर्गत प्रशिक्षित उद्यमीहरूले स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग गर्दै विभिन्न सामाजिक, आर्थिक तथा वातावरणीय चुनौतीको समाधान खोजिरहेका छन्। नेपालको मौलिक संस्कृति र जीवनशैलीमा आधारित अनुभवमूलक पर्यटन, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा बजारीकरण, ड्रोन प्रविधिमा आधारित नवीन समाधान, स्थानीय कारीगरका उत्पादनको विकास तथा बजारीकरण, सूचना प्रविधिमार्फत रोजगारीका अवसरमा पहुँच विस्तार र विद्यार्थी तथा युवाको मानसिक एवं भावनात्मक स्वास्थ्य प्रवर्द्धन यसअन्तर्गतका उद्यमका उदाहरण हुन्।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको फेलोसिप कार्यक्रम छ महिनाको गहन सिकाइ तथा क्षमता विकास कार्यक्रम हो। यसमा आवासीय सिकाइ, विशेषज्ञ परामर्श, क्षेत्र अध्ययन, सहकर्मी सिकाइ, व्यावसायिक मोडल विकास तथा लगानीकर्तासमक्ष व्यावसायिक योजना प्रस्तुत गर्ने पिचिङलगायतका गतिविधि समावेश छन्।
कार्यक्रमले सहभागीलाई आफ्ना उद्यम थप व्यवस्थित, व्यावसायिक र दिगो बनाउन आवश्यक ज्ञान तथा व्यावहारिक अनुभव प्रदान गर्दै आएको बैंकले जनाएको छ।
पाँच वर्षको अवधिमा नबिल एसएसईले देशका विभिन्न भूगोल, समुदाय तथा क्षेत्रका उद्यमीलाई एउटै प्लेटफर्ममा जोडेको छ। यसले सामाजिक नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासबीचको सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखेको छ।
बैंकका अनुसार नबिल एसएसई फेलोसिप कार्यक्रमको सातौँ समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विभिन्न साझेदार शैक्षिक संस्थामार्फत नयाँ सर्टिफिकेट कोर्स समूह पनि सञ्चालन भइरहेका छन्।
कार्यक्रमले आगामी दिनमा आफ्नो प्रभाव र दायरा विस्तार गर्दै थप उद्यमीलाई समेट्ने लक्ष्य लिएको बैंकले जनाएको छ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलता, विकास तथा रोजगारी सिर्जनामार्फत दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित नबिल एसएसई सञ्चालन गर्दै आएको छ।







