काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर १२ र १३ गते ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौँको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न क्षेत्रका गल्फ खेलाडी तथा खेलप्रेमीको सहभागिता रहने बैंकले जनाएको छ।
प्रतियोगितामा होल इन वान विजेताका लागि आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कार राखिएको छ। यस्तै, अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज प्रदान गरिनेछ।
प्रतियोगितालाई आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।
बैंकका अनुसार प्रतियोगिताको उद्देश्य खेलकुद संस्कृतिको प्रवर्द्धन गर्नुका साथै विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्नु हो। प्रतियोगिताले खेल, प्रकृति र सामाजिक सद्भावलाई एकै ठाउँमा जोड्ने अपेक्षा बैंकले गरेको छ।
आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’ र ‘बेस्ट इन्टरनेट बैंक २०१६’ लगायतका अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ। यसका साथै युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मान पनि प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।







