काठमाडौँ । नबिल बैंकले भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business - Principal Client) विधामा अवार्ड जितेको हो।
काठमाडौँस्थित होटल मेरियटमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए। नबिल बैंकले यसअघि पनि यी विधामा अवार्ड प्राप्त गर्दै आएको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधा र सहजतालाई केन्द्रमा राख्दै नवीनता तथा प्रविधिको प्रयोगलाई निरन्तरता दिन थप प्रेरणा मिलेको बताए।
“हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उनले भने।
भिसा इन्टरनेशनल विश्वव्यापी डिजिटल भुक्तानी प्रविधि तथा कार्ड नेटवर्क प्रदायक कम्पनी हो। कम्पनीले नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ।
नबिल बैंक चार दशकभन्दा लामो बैंकिङ अनुभव भएको नेपालको अग्रणी वाणिज्य बैंक हो। बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत नवीन सेवा तथा प्रविधिको प्रयोग गरी बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ।
बैंकका अनुसार देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।







