नबिल बैंक र धुलिखेल अस्पतालद्वारा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन


  • NABIL Bank news left side ad
  • Mahalaxmi Bikas Bank Ad
  • ADBL
नबिल बैंक र धुलिखेल अस्पतालद्वारा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले जलनका बिरामीलाई विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन गरेका छन्।

मंगलबार आयोजित एक समारोहबीच नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजुले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्। कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति थियो।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको उक्त वार्डले जलनका बिरामीलाई विशेषज्ञतायुक्त उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध गराउन अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

यसअघि नबिल केयरले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको थियो। बैंकका अनुसार ती शिविरमार्फत देशका विभिन्न क्षेत्रका करिब ५०० जलन प्रभावितले उपचार सेवा प्राप्त गरेका छन्।

नेपालमा जलनका घटना जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा रहेका छन्। यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार, विशेषज्ञ चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना तथा मनोसामाजिक सहयोग आवश्यक पर्ने भएकाले नयाँ वार्डले उपचार सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै नबिल बैंकका अध्यक्ष चौधरीले संस्थाको सफलता आर्थिक उपलब्धिमा मात्र सीमित नभई समाजमा पुर्‍याएको सकारात्मक प्रभावबाट पनि मूल्याङ्कन हुनुपर्ने बताए। उनले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सामाजिक आवश्यकता सम्बोधन गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले विशिष्टीकृत जलन उपचार सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न धुलिखेल अस्पतालसँगको सहकार्य महत्वपूर्ण रहेको बताए। उनले यस वार्डलाई नबिल केयरअन्तर्गत सञ्चालन भइरहेका सामाजिक उत्तरदायित्वका कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजुले नबिल बैंकको सहयोगले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा योगदान पुग्ने बताए। उनले विशेषगरी ग्रामीण तथा विशेषज्ञ उपचार सेवाको पहुँच कम भएका समुदायका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस सहकार्यले सहयोग गर्ने विश्वास व्यक्त गरे।

‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मान्यताका साथ सञ्चालन हुँदै आएको धुलिखेल अस्पतालले सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नयाँ बर्न केयर वार्डले अस्पतालको विशिष्टीकृत उपचार सेवा थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

नबिल बैंकले वित्तीय सेवासँगै स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

  • Global IME Below News
  • Siddhartha Bank