काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुईवटा उत्कृष्टता अवार्ड प्राप्त गरेको छ।
भिसा इन्टरनेशनलद्वारा आयोजित ‘Visa Leadership Conclave’ कार्यक्रममा बैंकलाई कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै ‘Excellence in Consumer Prepaid Cards Business’ र ‘Excellence in Consumer Credit Cards Business’ अवार्ड प्रदान गरिएको हो।
बैंकले ग्राहकलाई सुरक्षित, सहज तथा आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवाको विस्तार गर्दै आएको जनाएको छ। प्राप्त अवार्डले कार्ड व्यवसायमा बैंकले हासिल गरेको उपलब्धि र डिजिटल भुक्तानी सेवाप्रतिको प्रतिबद्धतालाई थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ।
नेपालमा आषाढ २०८३ मसान्तसम्म कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी भएका छन्। तीमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार अर्थात् २१ प्रतिशत रहेको छ।
त्यसैगरी, सोही अवधिसम्म नेपालमा कुल २ लाख ८० हजार प्रिपेड कार्ड जारी भएकामा सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार रहेको बैंकले जनाएको छ।
यसैबीच, बैंकले ग्राहकलाई क्रेडिट कार्ड सेवा थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा उपलब्ध गराएको छ। उक्त सुविधाका लागि ग्राहकले मङ्सिर २९, २०८३ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।







