काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग बढेसँगै ठगी गर्ने तरिका पनि फेरिँदै गएको छ।
विगतमा व्यक्तिगत बैंक खाता वा वालेट भाडामा लिएर ठगी गर्दा खाता बन्द हुने र कारोबारको सीमा लाग्ने समस्या बढेपछि ठग समूहले अहिले दर्ता भएका पसल तथा व्यवसायको ‘मर्चेन्ट क्यूआर’ भाडामा लिन थालेका छन्।
नेपाल राष्ट्र बैंकको भदौ मसान्त २०८३ (सेप्टेम्बर २०२६) सम्मको तथ्याङ्कअनुसार देशभर ३ करोड ४ लाख ७३ हजार ६९० मोबाइल बैंकिङ प्रयोगकर्ता, २५ लाख १५ हजार ८०३ इन्टरनेट बैंकिङ प्रयोगकर्ता र ६ करोड ४० लाखभन्दा बढी निक्षेप खाता छन्।
यति धेरै मानिस डिजिटल कारोबारमा जोडिएको बेला दर्तावाल क्यूआर दुरुपयोग हुनुलाई विज्ञहरूले गम्भीर जोखिम मानेका छन्।
कसरी भइरहेछ ठगी ?
यस ठगीमा अपराधीहरूले व्यक्तिगत खाताको सट्टा चलिरहेको पसल वा फर्मको क्यूआर प्रयोग गर्छन्। ठगहरूले पसललाई मासिक १० हजारदेखि ५० हजार रुपैयाँसम्म भाडा दिने भन्दै क्यूआर लिन्छन् र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सस्तो तथा आकर्षक अफर भन्दै नक्कली विज्ञापन चलाउँछन्।
भुक्तानी गर्दा ग्राहकको मोबाइलमा पसलकै नाम देखिँदा धेरैले विश्वास गरेर अग्रिम पैसा पठाउँछन्, तर पैसा पाएपछि सामान नपठाई ठगहरू सम्पर्कविहीन हुन्छन्।
यसरी आफ्नो क्यूआर भाडामा दिने व्यवसायी पनि कानुनी र आर्थिक समस्यामा पर्न सक्छन्।
क्यूआरमार्फत ठगीको पैसा संकलन भएमा सम्बन्धित पसलको खाता रोक्का हुने, छानबिनमा तानिने तथा विद्युतीय कारोबार र साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही हुन सक्ने जोखिम रहन्छ।

कसरी जोगिने ?
यस्तो ठगीबाट बच्न अपरिचित सामाजिक सञ्जाल वा नयाँ अनलाइन पेजबाट सामान किन्दा पहिले नै क्यूआरबाट पैसा नतिरी सामान हातमा परेपछि मात्र तिर्ने ‘क्यास अन डेलिभरी’ रोज्नु उपयुक्त हुन्छ।
पैसा पठाउनुअघि पसल र क्यूआरमा देखिने नाम मिलेको छ कि छैन जाँच्नुपर्छ, थोरै पैसाको लोभमा आफ्नो क्यूआर अरूलाई भाडामा दिनु हुँदैन र ठगी भएमा वा शंका लागेमा तुरुन्त कारबाहीका लागि सरोकारवाला निकायमा खबर गर्नुपर्छ।
साइबर ठगीविरुद्ध तत्काल कदम चाल्न गृह मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ (IACSC) सञ्चालनमा छ।
यो केन्द्रमार्फत नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (PSP), भुक्तानी प्रणाली सञ्चालक (PSO), दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक (ISP) को सहकार्यमा २४ सै घण्टा सेवा पाइन्छ। साइबर ठगीमा परेमा वा शंका लागेमा तुरुन्त हटलाइन १२४७ मा सम्पर्क गर्न सकिन्छ।







