१०.५० प्रतिशत लाभांश पारित गर्दै कोष व्यवस्थापन कम्पनीको १०औँ वार्षिक साधारण सभा सम्पन्न


  • NABIL Bank news left side ad
  • ADBL
१०.५० प्रतिशत लाभांश पारित गर्दै कोष व्यवस्थापन कम्पनीको १०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा कार्तिक ३० गते सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पारित गर्नुका साथै शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

सभाले कम्पनीको पूँजी वृद्धि योजनासहित प्रस्तुत अन्य प्रस्तावहरू पनि पारित गरेको छ। कम्पनीको संस्थागत विकास, लगानी क्षमता विस्तार तथा आगामी व्यावसायिक कार्यदिशाका लागि पूँजी वृद्धि योजनालाई महत्वपूर्ण मानिएको छ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष सुशील हुमागाईँको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति सदस्यहरू सरिता कुमारी पोखरेल, नारायणप्रसाद आचार्य, बलराम पौडेल र दिल बस्नेतको उपस्थिति थियो। त्यसैगरी, कम्पनीको प्रमुख संस्थापक कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, लेखापरीक्षक सीए मुरलीधर तिवारी, कम्पनी रजिस्ट्रारको कार्यालयका प्रतिनिधि तथा कृषि विकास बैंकका तर्फबाट हेमलाल पौडेलको सहभागिता रहेको थियो। सभाको सञ्चालन कम्पनीका सचिव राजेन्द्र पराजुलीले गरेका थिए।

सभामा शेयरधनीहरूका तर्फबाट एकबहादुर बस्नेत, जनार्दन बाबु कट्टेल र डा. राजन थापाले कम्पनीको वित्तीय अवस्था, कार्यसम्पादन तथा आगामी योजनाका विषयमा धारणा राखेका थिए। त्यसैगरी, संस्थापक बैंक कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कम्पनीका लागि अवसरसँगै चुनौतीहरू पनि रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी लाभांश वितरण गर्न सक्ने गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न शुभकामना व्यक्त गरेका थिए।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६२ लाख ७९ हजार रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति भने वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ३४ करोड ८२ लाख रुपैयाँ रहेको कुल सम्पत्ति बढेर ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी ३ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ। सोही चुक्ता पूँजीका आधारमा शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको हो।

वार्षिक प्रतिवेदनअनुसार कम्पनीको लगानी पोर्टफोलियोको कुल उचित मूल्य करिब ३५ करोड १४ लाख रुपैयाँ रहेको छ।

कृषि विकास बैंक लिमिटेडद्वारा स्थापित तथा प्रवर्द्धित कोष व्यवस्थापन कम्पनीले बैंक निक्षेप, ऋणपत्र, विभिन्न कम्पनीका शेयर तथा म्युचुअल फण्डलगायतका क्षेत्रमा लगानी व्यवस्थापन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा लगानी व्यवस्थापनको दायरा विस्तार गर्नुका साथै संस्थागत क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ।

  • Global IME Below News
  • Siddhartha Bank