नेपाल बैंकको ९०औं वार्षिकोत्सव: अर्थमन्त्री वाग्लेद्वारा डिजिटल कर्जा र पोर्टलको शुभारम्भ, उत्कृष्ट शाखा तथा कर्मचारी सम्मानित


  • NABIL Bank news left side ad
  • ADBL
नेपाल बैंकको ९०औं वार्षिकोत्सव: अर्थमन्त्री वाग्लेद्वारा डिजिटल कर्जा र पोर्टलको शुभारम्भ, उत्कृष्ट शाखा तथा कर्मचारी सम्मानित

काठमाडौं - नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औं वर्ष प्रवेश गरेको सुअवसरमा बैंकको प्रधान कार्यालय प्राङ्गणमा एक भव्य वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घरबहादुर रावलको विशिष्ट उपस्थिति रहेको उक्त समारोहको अध्यक्षता बैंक सञ्चालक समितिका सदस्य बद्री खनालले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले बैंकको नयाँ डिजिटल सेवाहरू Fone Loan, Buy Now Pay Later (BNPL) क्रेडिटकार्ड र Online Loan Application Portal को औपचारिक शुभारम्भ गर्नुभयो। यस अवसरमा उहाँले कृषि, जलविद्युत, पर्यटन, सूचनाप्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगहरूमा कर्जा लगानी विस्तार गर्दै उद्यमशीलता प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, संस्थागत सुशासन र वित्तीय अनुशासन कायम राख्न, तथा ग्रामीण र दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकलाई विशेष निर्देशन दिनुभयो।

हाल २३० वटा शाखा, २५० वटा एटीएम र ५३ वटा एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको यस बैंकका करिब १६ लाख ग्राहकहरू डिजिटल सेवाबाट लाभान्वित भइसकेका छन्। वार्षिकोत्सवका अवसरमा २५ वर्ष र २० वर्ष सेवा पुर्‍याउने कर्मचारीहरूलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरियो भने उत्कृष्ट १२ शाखा, प्राकृतिक विपद्मा पनि सेवा निरन्तरता दिने त्रिशुली र धुन्चे शाखा, तथा विषम परिस्थितिमा सम्पत्ति संरक्षण गर्ने कर्मचारी एवं सुरक्षाकर्मीहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रमको सुरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो।

  • Global IME Below News
  • Siddhartha Bank