कामना सेवा फुटसल कपको उपाधि कुमारी बैंक र लुम्बिनी विकास बैंकलाई


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा फुटसल कपको उपाधि कुमारी बैंक र लुम्बिनी विकास बैंकलाई

काठमाडौं। कामना सेवा फुटसल कपको छैटौँ संस्करणमा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्।

आइतबार सम्पन्न पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो। त्यसैगरी, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि रक्षा गरेको छ।

कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। धन्वन्तरी फुटसलमा आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोली सहभागी थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च र इकोनोमिक मिडिया एसोसिएसनबीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो।

समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।

  • Global IME Below News
  • Siddhartha Bank
  • EBL Ad news