काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन्। एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि थकालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
यसअघि एसोसिएसनको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमितिसमेत निर्विरोध चयन भएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल चयन भएका छन्।
त्यस्तै, सदस्यमा मुक्तिनाथ विकास बैंकका सीईओ तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं निर्विरोध निर्वाचित भएका छन्।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वित्तीय विवरण छलफल गरी पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।
चार्टर्ड एकाउन्टेन्ट तथा अनुभवी बैंकर थकालीले बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन्। अध्यक्षमा निर्वाचित भएपछि उनले विकास बैंकहरूको साझा हित र बैंकिङ क्षेत्रका समसामयिक चुनौती सम्बोधन गर्न एसोसिएसनका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले विशेषगरी सुशासन, जोखिम व्यवस्थापन, प्रविधिको उपयोग, मानव संसाधनको क्षमता अभिवृद्धि, कर्जाको गुणस्तर सुधार तथा कर्जा असुलीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। साथै, सदस्य बैंकहरूबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदानलाई थप विस्तार गर्ने आवश्यकता औँल्याएका छन्।
नयाँ कार्यसमितिले निवर्तमान पदाधिकारीहरूलाई एसोसिएसनको संस्थागत विकास, बैंकिङ क्षेत्रका साझा मुद्दाको सम्बोधन तथा नीतिगत पैरवीमा पुर्याएको योगदानका लागि धन्यवादसमेत व्यक्त गरेको छ।
विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सदस्य बैंकहरूको साझा हित संरक्षण, नीतिगत समन्वय तथा समग्र बैंकिङ क्षेत्रको विकासका लागि नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय र सरोकारवाला संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।
यसका अतिरिक्त एसोसिएसनले सदस्य बैंकहरूबीच सहकार्य र ज्ञान आदानप्रदान प्रवर्द्धन, साझा समस्याको सामूहिक समाधान तथा समसामयिक विषयमा कार्यशाला सञ्चालन गर्दै आएको छ। सदस्य बैंकहरूको कामलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले डोमेस्टिक पीईपी स्क्रिनिङ, नेभिगेसन लिस्ट स्क्रिनिङ, एचआर एमआईएस तथा फाइनान्स एमआईएसजस्ता प्रणालीहरूको विकास र सञ्चालनमा समेत एसोसिएसन सक्रिय छ।
नवनिर्वाचित अध्यक्ष थकालीले सदस्य बैंक, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिँदै विकास बैंकहरूको संस्थागत क्षमता अभिवृद्धि र साझा हित प्रवर्द्धनमा केन्द्रित भएर काम गर्ने बताएका छन्।








