काठमाडौं -कृषि विकास बैंक लिमिटेडको साहित्यिक प्रकाशन ‘समष्टि’ पत्रिकाको १२२औँ अङ्क एक समारोहबीच विमोचन गरिएको छ। बैंकको केन्द्रीय कार्यालय, सिंहदरबारस्थित सभाहलमा आयोजित उक्त कार्यक्रम बैंक सञ्चालकमण्डलका सदस्य विनोदकुमार गुरागाईंको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं समष्टिका संरक्षक गोविन्द गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि एवं सञ्चालक समिति सदस्य गुरागाईंले साहित्यप्रमीहरूको चरित्र कोमल र असल हुने उल्लेख गर्दै सबैले साहित्यिक भावना आत्मसात् गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। साथै, उहाँले नेपाली साहित्यिक क्षेत्रमा ‘समष्टि’ पत्रिकाले पुर्याएको योगदानको प्रशंसा गर्दै निरन्तर प्रकाशनका लागि शुभकामना दिनुभयो।
आगामी दिनमा पत्रिकालाई त्रैमासिक बनाइने
सभापतिको आसनबाट बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत एवं समष्टिका संरक्षक गोविन्द गुरुङले आफू साहित्यिक साधक बन्न नसके पनि कला, सङ्गीत र साहित्यप्रति गहिरो रुचि रहेको बताउनुभयो। उहाँले आर्थिक वर्ष २०८३/०८४ देखि समष्टि पत्रिकालाई चौमासिक बनाइएको जानकारी दिँदै आगामी दिनमा यसलाई त्रैमासिक रूपमा प्रकाशन गर्ने योजना रहेको घोषणा गर्नुभयो। सोही क्रममा उहाँले वि.सं. १९६० को दशकको लमजुडतिर भनिने “ओराली लाग्दै” भन्ने भनाइसँग सम्बन्धित एक कविता समेत वाचन गर्नुभउनुभएको थियो। उहाँले पत्रिका प्रकाशनमा अहोरात्र खट्ने सम्पूर्ण सम्पादक तथा टिमलाई धन्यवाद ज्ञापन गर्दै बडा दसैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वहरूको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा समष्टिका पूर्वसम्पादक एवं मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार कृष्ण धराबासीले शुभकामना मन्तव्य व्यक्त गर्दै १६ वर्षअघि आफूले पनि यसै पत्रिकाको सम्पादक भई काम गरेको स्मरण गर्नुभयो।
समष्टिका सम्पादन समूहका अध्यक्ष एवं बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा बैंकका सञ्चालकमण्डलका सदस्य रीता सुवेदी, समष्टिका पूर्वसम्पादक एवं कथाकार दिलीप शाह, पूर्वसम्पादक तथा कवि मोहिनी मन, बैंकका उपमहाप्रबन्धकहरू, विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन समष्टिका सम्पादक एवं बैंकका शाखा प्रमुख शान्तराम भट्टराईले गर्नुभएको थियो।







