काठमाडौं। नबिल बैंक लिमिटेडले डिजिटल माध्यमबाट क्रेडिट सुविधा उपलब्ध गराउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि उपलब्ध यो कार्ड एनबैंक मोबाइल बैंकिङ एपमार्फत आवेदन दिएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकले एनबैंक एपको होमपेजमा रहेको ‘Apply Now’ विकल्पमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। यसका लागि परम्परागत क्रेडिट कार्डमा जस्तो कागजी प्रक्रियामा संलग्न हुनुपर्ने झन्झट कम हुने बैंकको भनाइ छ।
बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहक पहिचान गरी कार्डका लागि पूर्वस्वीकृति दिएको छ। योग्य ग्राहकको एपमा ‘Apply Now’ विकल्प स्वतः देखिनेछ। कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआरमा आधारित भुक्तानीसमेत गर्न सकिनेछ।
नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको थियो। उक्त सहकार्यपछि ग्राहकले फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्नेछन्।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने र ग्राहकको बदलिँदो आवश्यकताअनुसार वित्तीय सेवा विस्तार गर्ने बैंकको प्रतिबद्धता व्यक्त गरे।
“ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकताअनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो,” उनले भने।
बैंकले नयाँ सेवाले ग्राहकलाई मोबाइल एपबाटै क्रेडिट कार्ड प्राप्त गरी डिजिटल भुक्तानी गर्न सहज बनाउने अपेक्षा गरेको छ। भर्चुअल कार्ड पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध हुने भएकाले यसको आवेदन तथा प्रयोगमा मोबाइल बैंकिङको भूमिका महत्वपूर्ण रहनेछ।
नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको नबिलले डिजिटल बैंकिङ विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ। बैंकले आगामी दिनमा पनि प्रविधिमा आधारित वित्तीय सेवाहरू विस्तार गर्ने जनाएको छ।






