दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, साहसिक गतिविधि तथा बालबालिका र परिवारका लागि मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने कम्पनीले जनाएको छ।
बन्दीपुर केवलकारको लोअर स्टेसनमा आयोजना हुने महोत्सव दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक सुरज राईले जानकारी दिएका छन्।
महोत्सवमा स्थानीय परिकारसहितको फुड फेस्टिभल, रमाइला खेल, सांस्कृतिक प्रस्तुतिहरू तथा बालबालिका र परिवारका लागि विशेष गतिविधि सञ्चालन गरिनेछ। बालबालिकालाई लक्षित गरी किड्स जोनसमेत व्यवस्था गरिने आयोजकले जनाएको छ।
त्यसैगरी, आगन्तुकले केवलकार, जिपलाइन र स्काई साइकलिङलगायतका गतिविधिको अनुभव लिन सक्नेछन्। महोत्सवमा स्थानीय बासिन्दा तथा अन्य आगन्तुकलाई सहभागी गराउने उद्देश्यले प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ।
दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने योजना बनाएको छ। यसबाट चाडपर्वमा यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुर भ्रमणका लागि आकर्षित गर्ने अपेक्षा गरिएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार ‘बन्दीपुर फेस्ट’ले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्थानीय स्वाद र साहसिक गतिविधिसँग जोडिने अवसर प्रदान गर्नेछ।
बन्दीपुरहिल प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक अनुभव, साहसिक गतिविधि तथा आधुनिक सुविधालाई एकै स्थानमा समेटिएको पर्यटकीय गन्तव्य हो। यहाँ केवलकार, फाइन डाइनिङ रेस्टुरेन्टलगायतका सुविधा उपलब्ध छन्।






