काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा को ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
त्यस्तै, हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।
साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ। संस्थापक शेयरधनीको तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा चयन भएका छन्।
यसैबीच, नव निर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू समेत पारित गरेको छ।
बैंकका अनुसार आम नागरिकको विश्वास र भरोसाका कारण बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा आफ्नो सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।






