‘मनी म्यूल’ आतंक: छिटो पैसा कमाउने प्रलोभनले कसरी पुर्‍याउँदैछ जेलसम्म ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘मनी म्यूल’ आतंक: छिटो पैसा कमाउने प्रलोभनले कसरी पुर्‍याउँदैछ जेलसम्म ?

पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यममार्फत आकर्षक प्रलोभन देखाएर साधारण नागरिकहरूलाई वित्तीय अपराधमा फसाउने ‘मनी म्यूल’ (Money Mule) को जोखिम उच्च बन्दै गएको छ।

छिटो र सजिलो पैसा कमाउने लोभमा परेर आफ्नो बैंक खाता वा डिजिटल वालेट अरूलाई प्रयोग गर्न दिने प्रवृत्तिले मानिसहरूलाई अनपेक्षित रूपमा गम्भीर कानुनी झमेलामा धकेलिरहेको बैंकिङ विज्ञहरू बताउँछन्।

मनी म्यूल: यो के हो र कसरी परिन्छ यसको पासोमा?

सरल अर्थमा, मनी म्यूल ती व्यक्तिहरू हुन् जसका बैंक खाता वा वालेटहरू अपराधीहरूले अवैध रूपमा कमाएको कालो धन ओसारपसार गर्न प्रयोग गर्छन्। साइबर अपराधी, ठग र फिरौती असुल गर्नेहरूले आफ्नो पहिचान लुकाउन यस्तो शैली अपनाउँछन्।

उनीहरूले ठगीमार्फत असुल गरेको रकम सर्वसाधारणका खातामा जम्मा गराउने र त्यसलाई झिकेर वा त्यसलाई झिकेर वा अन्यत्र स्थानान्तरण गरी वैध स्रोत देखाउने गर्छन्। यस प्रक्रियामा खाता धनी आफैँ अन्जानमै अपराधको साझेदार बन्न पुग्छ।

अपराधीहरूले विशेषगरी इमेल, फेसबुक, ह्वाट्सएप, टेलिग्राम, भाइबर वा फोन कलमार्फत ‘घरमै बसेर काम गरी मनग्गे कमाउने सुनौलो अवसर’ वा ‘थोरै समयमा धेरै आम्दानी हुने’ प्रलोभन देखाएर खाताको पासवर्ड, पिन वा ओटीपी कोड हत्याउने गरेका छन्।

कानुनी जोखिम: जेल सजाय र सम्पत्ति शुद्धीकरणको मुद्दा

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत विवरण कसैसँग पनि सेयर नगर्न लगातार चेतावनी दिए पनि जनचेतनाको अभावमा धेरै मानिसहरू यसको सिकार भइरहेका छन्।

यदि कोही व्यक्ति जानी वा नजानी मनी म्यूलको रूपमा संलग्न पाइएमा सम्पत्ति शुद्धीकरण (Money Laundering) ऐन तथा प्रचलित कानुनअनुसार कारबाही हुन्छ।

यसमा संलग्न ठहरिएमा साधारण ठगी मात्र नभई सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा समेत मुद्दा चलाइने हुनाले दोषीलाई भारी आर्थिक जरिवाना र लामो समयसम्मको जेल सजाय हुन सक्छ।

कसरी बच्ने? वित्तीय सुरक्षाका लागि अपनाउनुपर्ने सतर्कता

वित्तीय अपराधका जोखिमबाट सुरक्षित रहन नागरिकहरूले प्रलोभनमा नपरी उच्च सतर्कता अपनाउनु अनिवार्य देखिन्छ। छिटो र सजिलो आम्दानीको प्रलोभन देखाउने कुनै पनि अफरलाई पूर्ण रूपमा बहिष्कार गर्नुपर्छ।

आफ्नो बैंक खाता, डिजिटल वालेटको पासवर्ड वा ओटीपी (OTP) कोड कसैलाई पनि नदिनु तथा कुनै पनि बहानामा आफ्नो खाता अन्य व्यक्तिको कारोबारका लागि प्रयोग गर्न नदिनु नै यसबाट बच्ने मुख्य उपाय हो।

त्यस्तै, कुनै पनि शंकास्पद गतिविधि वा अनुचित प्रस्ताव आएमा तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्थालाई जानकारी गराउनु पर्छ। डिजिटल कारोबारको यो युगमा व्यक्तिगत सचेतताच वित्तीय सुरक्षाको पहिलो र मुख्य ढाल हो।

  • EBL Ad news