एभरेष्ट बैंकले शाखा विस्तारलाई निरन्तरता दिँदै कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले असोज ५ गते आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका लागि निर्माण गरिएको आफ्नै नयाँ भवनको उद्घाटन गर्दै प्रादेशिक कार्यालय पनि सोही भवनमा स्थानान्तरण गरेको जनाएको छ।
नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। बैंकका अनुसार अब शाखा कार्यालय र प्रादेशिक कार्यालयबाट सम्पूर्ण सेवा एउटै भवनमार्फत उपलब्ध हुनेछ।
नयाँ भवन तथा शाखाको संयुक्त उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले गरेका थिए। कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, स्थानीय व्यवसायी, बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
बैंकले धनगढीको क्याम्पस चोकमा आफ्नै भवनबाट सेवा सञ्चालनमा आएपछि स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने र क्षेत्रीय आर्थिक विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






