ब्रोकरको डाटा हबमा साइबर आक्रमण, आजको लागि शेयर कारोबार स्थगित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्रोकरको डाटा हबमा साइबर आक्रमण, आजको लागि शेयर कारोबार स्थगित

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारको नियमित शेयर कारोबार स्थगित गरेको छ। नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा प्रयोग हुने डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान हुन नसकेपछि कारोबार स्थगित गरिएको हो।

नेप्सेका अनुसार असोज ४ गते बिहानदेखि ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा हबमा प्राविधिक समस्या देखिएको थियो। उक्त समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरे पनि सोमबारसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।

डाटा हबमा साइबर आक्रमणपछि समस्या देखिएको बताइएको छ। यद्यपि, नेप्सेले उक्त डाटा ब्रोकर कम्पनीहरूको आफ्नै भएको र नेप्सेको मुख्य डाटा नभएको जनाएको छ। ब्रोकर कम्पनीहरूले टीएमएसमार्फत कारोबार सञ्चालन गरे पनि डाटा सेन्टर भने आफ्नै सञ्चालनमा राख्ने गरेका छन्।

डाटा हबको समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत प्राविधिक जोखिम उत्पन्न हुन सक्ने भएकाले सावधानीस्वरूप सोमबारको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।

यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि डाटा सेन्टरमा देखिएको समस्याका कारण सोमबारको कारोबार स्थगित गर्न नेप्सेलाई लिखित आग्रह गरेको थियो। सोही आग्रहका आधारमा नेप्सेले कारोबार स्थगित गर्ने निर्णय गरेको हो।

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम कारोबार स्थगित गरिएको जनाएको छ। बजार पुनः सञ्चालन हुने मिति भने डाटा हबको प्राविधिक समस्या समाधान भएपछि तय गरिनेछ।

  • EBL Ad news